close

सडक मानवमुक्त जुम्लाका सडकमै सुत्छन् ४८ नागरिक

सडक मानवमुक्त जुम्लाका सडकमै सुत्छन् ४८ नागरिक

Trulli
ADVERTISEMENT

जुम्ला– सडक मानवमुक्त कर्णाली प्रदेशको जुम्लामा ४८ जना सडक मानव भेटिएका छन् । करिब डेढ साताको अवधिमा संकलित तथ्यांकअनुसार यहाँका ८ वटै स्थानीय तहमा गरी ४८ जना सडक मानव भेटिएका हुन् ।


यीमध्ये ४ जनाको भर्खरै उद्धार गरी सुर्खेतस्थित मानव सेवा आश्रम पठाएको छ । सामाजिक विकास कार्यालय जुम्लाले जिल्लाका ७ वटै तहमा संकलन गरेको तथ्यांकअनुसार हाल बेवारिसे अवस्थामा ४४ जनाले सडक जीवन बिताइरहेका छन् ।


कार्यालय प्रमुख बलवीर सुनारले शुक्रबार प्रशासनमा आयोजित कार्यक्रममा जुम्लाका सडक मानवको तथ्यांक सार्वजनिक गरेका हुन् ।


तिला र हिमा गाउँपालिकामा सडक मानव शून्य छन् । तातोपानीमा २ जना, सिँजामा ३ जना, कनकासुन्दरीमा १६ जना, पातारासीमा १० जना, गुठीचौरमा २ जना र चन्दननाथ नगरपालिकामा १३ जना गरी ४६ जना सडक मानव छन् ।


जुम्लामा सडक मानवको संख्या क्रमिक रूपमा बढ्दै जाँदा व्यवस्थापनमा चुनौती देखिएको छ । सडक मानवको दीर्घकालीन व्यवस्थापनमा आर्थिक, भौतिक तथा आवश्यक जनशक्ति व्यवस्थापनलगायत चुनौती देखिएका हुन् ।


छलफलमा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सडक मानवको दीर्घकालीन उद्धार तथा पुनस्र्थापनाका लागि व्यवस्थापनमा चुनौती आएको बताए ।


उनले भने, ‘दीर्घकालीन व्यवस्थापनका भवन, रेखदेख गर्ने जनशक्ति, खाने–बस्ने समस्या छ । यसका लागि स्थानीय तह तथा गैरसरकारी संस्थासँग आवश्यक समन्वयबिना सम्भव छैन ।’


कसरी व्यवस्थापन गर्नेबारे टुंगो लगाउन सबैले मानवीय दायित्व पूरा गर्नुपर्ने प्रजिअ थापाले औँल्याए । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले जुम्लाका मात्र नभई माथिल्लो कर्णालीका सडक मानवको उद्धार हुने गरी यहीँ व्यवस्थापनमा जुट्नुपर्ने बताए ।


छलफलमा सडक मानव व्यवस्थापनका लागि जुम्लामै मानव सेवा आश्रम सञ्चालन गर्नेबारे आगामी साता ८ वटै स्थानीय तहका प्रमुखसँग छलफल गर्ने निर्णय भएको प्रशासनका कम्प्युटर अपरेटर नासु हरिकृष्ण महतले बताए ।