close

धान नाच सिक्ने हो? फुङ्लिङ आउनूस्

धान नाच सिक्ने हो? फुङ्लिङ आउनूस्

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– लिम्बू समुदायको बाहुल्य रहेको ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले केःलाङ (च्याब्रुङ) र याःलाङ (धान नाच) का बारेमा नम्बर ४ वडाबासीलाई सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण गराएको छ ।


फुङ्लिङ नगरपालिका वडा नम्बर ४ को चालू आर्थिक वर्षको स्वीकृत बजेटबाट केःलाङ र याःलाङ प्रशिक्षण गराइएको वडाध्यक्ष जीतेन चेम्जोङले जानकारी दिए ।


नगरपालिकाका आन्तरिक लेखा परीक्षक भूपालकुमार सेन्दाङका अनुसार केःलाङ र याःलाङ दुवै कार्यक्रमका लासिग जनही १–१ लाख रुपैयाँको बजेट रहेको थियो । वडाको बजेटबाट उपभोक्ता समितिमार्फत केःलाङ र याःलाङको तालिम सञ्चालन गरिएको सेन्दाङले बताए ।

 

लिम्बू समुदायमा विवाह, भोजभतेर, विभिन्न कार्यक्रमलगायतका अवसरमा बेग्लाबेग्लै ताल, लय र भाकामा च्याबु्रुङ अर्थात् केःलाङ बजाएर नाचिन्छ । च्याब्रुङ नेपालको पूर्वी पहाडमा बस्ने लिम्बू समुदायका मानिसको परम्परागत लोकबाजा हो ।


लिम्बु समुदायका मानिसले आफ्नो उधौली तथा उभौली पर्वमा यो बाजा बजाएर विशेष नाच नाच्ने गर्छन् । मादलजस्तै ठूलो काठको ढुंग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने यो बाजामा खरीको प्रयोग गरिँदैन । यस्तो समय झ्याम्टाको साथमा च्याब्रुङ बजाइन्छ ।


धान नाच लिम्बू जातिको प्रमुख नृत्यमा पर्छ । लिम्बू भाषामा धान नाचलाई याःलाक्मा भनिन्छ । लिम्बू भाषामा अर्थ याःभनेको धान हो भने लाक्मा भनेको कुल्चनु हो । यसरी याः लाक्मा धान कुल्चे गरी विस्तारै–विस्तारै अगाडि–पछाडि गर्दै नाचिन्छ ।


सुरुमा ३ देखि ७ पुस्तासम्म साइनो सोधी युवायुवतीहरू एकअर्काको हात समाई वरपर गरी मिठो स्वरमा पाःलाम (गीत) गाउँदै याःलाक्मा नाच्ने प्रचलनसमेत छ ।


कतै भुलवश युवायुवतीमा साइनो लाग्ने भए ३ पटक सेवारो अर्थात् नमस्कार गरेर त्यही आफ्नो पालम रोकी अलग्निे प्रचलन छ । कहिले सामूहिक घेरा बनाई ख्याल ठट्टा गर्दै दोहोरी गाउँदै हातमा हात राखी फन्को मारेर धान नाच्ने गरिन्छ ।