close

पूर्वराष्ट्रपति पढेको विद्यालयकाे कन्तबिजोक, न शौचालय न पूर्वाधार (भिडियो खबर) 

पूर्वराष्ट्रपति पढेको विद्यालयकाे कन्तबिजोक, न शौचालय न पूर्वाधार (भिडियो खबर) 

ADVERTISEMENT

धनुषा- प्राचीन मिथिलाको राजधानी जनकपुरधाम कुनै बेला आध्यात्मको केन्द्र,शिक्षा र ज्ञानको उर्वर भूमिको रूपमा चिनिन्थ्यो । त्रेता युगमा ठूला-ठूला विद्वान र विदुषी शास्त्रार्थकै लागि पुग्ने गरेको ग्रन्थमा उल्लेख भएको पाइन्छ । तर हाल प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधामको सामुदायिक विद्यालयको शिक्षा स्तर भने खस्कँदै गएको छ । यहाँका सामूदायिक विद्यालयको अवस्था त जर्जर बन्दै गएको छ ।


यो जनकपुरधाम ९ स्थित सरस्वती माध्यमिक विद्यालय । विसं २००४ सालमा स्थापना भएको यो विद्यालयबाट नै गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव, हालका उपप्रधानमन्त्री इश्वर पोखरेल सहितका राजनीतिज्ञ उत्पादन गर्न सफल विद्यालय हो । तर, यसको पूर्वाधारको अवस्था भने दयनिय बन्दै गएको छ । 

 

विद्यालयको पूर्वाधार जीर्ण भएको छ भन्ने गुणस्तरीय शिक्षा सुधार्न कतैबाट कुनै सहयोग भएको छैन ।  कुनै बेला यही विद्यालय थियो, जहाँ विद्यार्थी शैक्षिक रूपमा मात्र नभई राजनीतिक, सामाजिक रूपमा समेत सबल हुने गर्दथे । तर, अहिले यो विद्यालयमा न शैक्षिक गतिविधि सोचे अनुसार छ न त सामाजिक गतिविधि नै । 

 

जनकपुरधामको सबैभन्दा पुरानो मध्येको एक यो विद्यालयको भवन जीर्ण बन्दै गएपछि त्यसको प्रभाव विद्यालय हुंदै अध्ययन अध्यापनमा समेत पर्न गएको छ । विद्यालयमा अहिले भौतिक पूर्वाधारको अभाव देखिएकाले गतिविधि पनि शून्य जस्तै छ । राष्ट्रिय राजनीतिमै महत्वपूर्ण देन गर्नेे जनशक्ति उत्पादन गरेको विद्यालयप्रति स्थानीयहरूमा समेत झुकाव नभएपछि अवस्था जीर्ण बन्दै गइरहेको सरोकारवाला बताउँछन् ।


पुराना भवन जीर्ण भएपछि विद्यालयका कक्षा कोठा नवनिर्मित भवनमा सारिएको छ । तर न्यूनतम भौतिक पूर्वाधार समेत नभएको शिक्षकहरू बताउँछन् । विद्यालयले विभिन्न क्षेत्रका मेधावी व्यक्तित्व तयार पारे पनि कुनै पनि पूर्व विद्यार्थीहरूले खस्कँदो अवस्थाप्रति चासो नलिएको प्रधानाध्यापक सत्यनारायण मण्डल बताउँछन् ।


पूर्व राष्ट्रपति डा. रामवरण यादवले कुनै बेला अनुगमनका लागि पुग्दा विद्यालयको अवस्था देखेर चिन्तित हुंदै ८/८ कोठे २ वटा भवन निर्माणको लागि पहल गरेका थिए । भवन पनि बन्यो ।  विद्यालयमा काम चलाउनका लागि भवन त निर्माण भएपनि शौचालयको समस्या अझै विद्यमान छ ।

 

सरस्वती माविमा प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्राहरूलाई साइकल वितरण गर्नु बाहेक अन्य कुनै सहयोग गरेको छैन । राजनीतिक पूर्वाग्रहका कारण नै स्थानीय सरकार जनकपुरधाम  उपमहानगरपालिकाले बजेट समेत नदिएको जनप्रतिनिधिको आरोप छ । 


जनकपुर मात्र होइन प्रदेशकै शैक्षिक इतिहास बोकेको यो विद्यालयमा अहिले ८ सय ८५ जना विद्यार्थी अध्ययनरत छन् । तर, संरचना र शैक्षिक गुणस्तर कोमामा पुगेकाले आकर्षण घट्दै गइरहेको छ । जनकपुरका स्थानीय, नागरिक समाज, बुद्धिजीवी र सरोकारवालाले एक पटक यो विद्यालयबारे गम्भीर भएर सोच्नुपर्ने समय आएको छ ।