close

बिजुली बलेपछि दिच्याममा हर्ष वढाईँ

बिजुली बलेपछि दिच्याममा हर्ष वढाईँ

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका- ६ दिच्याममा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार भएको छ । साविक दरवाङ गाविसका ७, ८ र ९ नम्बर वडामा पर्ने दिच्यामको सबै वस्तीमा केन्द्रीय विद्युत विस्तार भएको हो । यसअघि साविक ९ नम्बर वडाको वस्तीमा बलेको बिजुली वडा नं.- ८ को वस्तीमा पनि विस्तार गरिएको वडा सदस्य कर्णबहादुर रोकाले बताए ।  


साविकको वडा नं.- ७ को वस्तीमा एक वर्षअघि नै बिजुली बलेको थियो । बाँकी ७९ घरमा पनि विद्युतीकरण भएपछि दिच्यामका सबै वस्तीमा बिजुली बलेको वडा सदस्य रोकाले बताए । नेपाल विद्युत प्राधिकरणको योजनाअनुसार यहाँ विद्युतीकरण भएको हो । 


दिच्याममा विद्युत विस्तार गर्न दुईवटा ट्रान्सफर्मर राखिएको छ । दरवाङदेखि गोगनपानी हुँदै दिच्यामसम्म विद्युत लाइन विस्तार गरिएको हो । यसअघि दिच्यामका बासिन्दाहरूले उज्यालोका लागि सोलार, पेल्ट्रिक सेट र टुकी बाल्ने गरेका थिए । 


विद्युत सुविधासँगै स्थानीयवासीको दैनिकीमा सुधार आउने र जनजीवन सहज बन्ने अपेक्षा गरिएको दिच्यामको भगवती आधारभूत विद्यालयका प्रधानात्तयापक जगत खत्रीले बताए । विद्युत सुविधा भएपछि टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्न, इन्टरनेट चलाउन, घरायसी काम गर्न, विद्यार्थीलाई पढ्न सहज भएको छ । 


यहाँका स्थानीयलाई कम्प्युटर, ल्यापटप चलाउन सजिलो भएको छ । सूचना प्रविधिमा पनि पहुँच बढेको छ । दाउराको विकल्पमा राइस कुकरमा खाना पकाउने सुविधा भएको छ । धुवाँबाट स्थानीयले मुक्ति पाएका छन् भने समयको बचत भएको छ । बिजुलीको झिलिमिली भएपछि दिच्यामवासीमा छुट्टै खुसीयाली छाएको छ ।