close

बाग्लुङका घरघरमा धारा, पुरा भो चुनावी नारा (भिडियो खबर)

बाग्लुङका घरघरमा धारा, पुरा भो चुनावी नारा (भिडियो खबर)

Trulli
ADVERTISEMENT

बाग्लुङ- खोला बगेको पानीमा बाँसको चपेरोले बनाएको पँधेरो । सबेरै पानी लिन पुगेका पँधेर्निहरु बिहान ढल्केपछि घर आईपुग्थे । पालो कुर्नुपर्ने, गाग्री भरिन पनि समय लाग्ने पँधेरोबाट फर्किँदा घरमा भएका बुढापाका ढिलो भयो भनेर कराउँथे । खानेपानीका मुहानको अभाव रहेको बाग्लुङको नारायणस्थानले लामो समय पानीको यसरी नै समस्या भोग्दै आयो ।

 

तर, अब भने यि कथा जस्तै हुने भएको छ । स्थानीय सरकारको पहल र संघीय सरकारको साथले कालिगण्डकीको तिर रहेका मुहानको पानी अहिले नारायणस्थानका घर घरमा पुगेको छ । 

 

यिनी तिलकुमारी बराईली । पानी भर्न पँधेरा पुगेर फर्किँदा सासुले ढिला गरेको भन्दै झपारेको अहिलेपनि सम्झन्छिन् । तर, अहिले बाग्लुङको नारायणस्थानका घर घरमा पानीका धारा पुगेका छन् । खोलाको पँधेरा पुग्नुपर्ने बाध्यता केही वर्ष पहिला हटेको नारायणस्थानमा अहिले घर-घरमा आफ्नै धारा छन् । भान्छाकोठा र गोठमा समेत आवश्यकता अनुसार धाराबाटै पानी खसाल्न सक्छन् । 


नारायणस्थनामा बागलुङ नगरपालिका-१३ पैन्युपाटाको धारापानी, वडा नं. १२ अमलाचौरको धापेखोलाबाट केही वर्ष पहिला पानी आएको हो । दर्जन घरको एउटा सामुदायिक धारोबाट पानी खाने उनीहरू अहिले कालीगण्डकी किनारको पानी बिजुलीले तानेर नारायणस्थानको शिरमा पुर्‍याईएको छ । 

 

नारायणस्थान खानेपानी संस्थाले सम्पन्न गरेको आयोजना जिल्लामा अहिलेसम्म बनेको सबैभन्दा ठुलो लिफ्टिङ प्रविधिको आयोजना हो । प्रतिसेकेण्ड आठ लिटर पानी दिनमा आठ घण्टा तानेर नारायणस्थानका घरघरमा चौविसै घण्टा पानी पुर्‍याईएको खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । 


नारायणस्थानका ७ सय ९७ घरमा घर घरमै धारा पुगेका छन् । ६० घर परिवारले अहिले पनि सामुदायिक धाराको पानी खान्छन् । खानेपानी संस्थाको पानीको धारा जोड्न १५ हजार रुपैयाँ लाग्छ । विपन्न परिवारका लागि पाँच हजारमा घर घरमा धारा जोड्ने व्यवस्था गरिएको छ ।

 

घर घरमा धारा पुगेपछि अहिले स्थानीयको दैनिकी फेरिएको छ । सुख्खा बाटोका डल्ला पल्टिने नारायणस्थानमा लहलह तरकारी फल्न थालेको छ । नेपाल सरकारको सहलगानी कार्यक्रम अन्तरगत १० करोड खर्चेर लिफ्टिङ आयोजना सञ्चालनमा आएको हो । ८० प्रतिशत संघीय सरकार र २० प्रतिशत बागलुङ नगरपालिकाको लगानी छ ।