close

तुङ्बा, काउली र बिरालोपछि शिवालय (भिडियो खबर)

तुङ्बा, काउली र बिरालोपछि शिवालय (भिडियो खबर)

ADVERTISEMENT

खोटाङ- पछिल्लो समय जिल्लाको सबैभन्दा महत्वपूर्ण वस्तुलाई आधारशीला बनाएर त्यसको मुर्ति बनाएर पर्यटक आकर्षित गर्ने चलन सुरु भएको छ । कतै तुङ्बा, कतै काउली त कतै बिरालोको मूर्ति राखिएको छ । खोटेहाङ गाउँपालिकाको थामखर्क विमानस्थल नजिकै रहेको धार्मिक तथा पर्यटकीयस्थल शङ्खेश्वर शिवालयमा राखिएको छ, ठूलो शंख राखिएको छ । धार्मिक पर्यटक बढाउने गरी नगरपालिकाले अन्य योजना पनि अघि सारेको छ । 


खोटाङको खोटेहाङ गाउँपालिकाले स्थानीय शंखेश्वर शिवालयलाई पर्यटकीय स्थलकारुपमा विकास गर्न भौतिक संरचना निर्माणमा जोड दिएको छ । खोटेहाङ गाउँपालिका-४ बड्कादियालेमा रहेको शिवालयलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि गाउँपालिकाले घेरावारा, सिँढी निर्माण, रंगरोगन लगायतका काम गरेको हो ।

 

गत वर्ष ७ लाखमा शंखेश्वर शिवालयको गेट सहित घेरावारा हालेको गाउँपालिकाले यस वर्ष मन्दिरसम्म पुग्ने रेलिङ सहितको सिँढी निर्माण, मन्दिरको जस्ता फेर्ने, गजुर राख्ने, झल्लर राख्ने, वायरिङ गर्ने, रंगरोगन गर्ने लगायतका काम गरेको छ । 


शंखेश्वर शिवालय गाउँपालिकाकै सानो हलेसीकारुपमा चिनिने सोलढुंगापछि बढि मेला लाग्ने धार्मिकस्थलका रुपमा परिचित छ । रसुवाघाट–खोटाङबजार सडकभन्दा केही माथि रहेको शिवालयमा बैशाख पूर्णिमाको दिन र कात्र्तिक पूर्णिमाको रात भव्य मेला लाग्ने गरेको छ ।

 

विशेषगरी कात्तिक पूर्णिमाको रात विभिन्न ठाउँका साधुसन्तले मृत आत्माको शान्तिका लागि लिंगो गाडेर पुजा–आजा, रुद्री, होमादी गर्ने, १ सय ८ तथा लाख वत्ती बाल्ने गरेका छन् । आसपासमा जंगलले ढाकेको र वरपरका दृश्यावलोकन गर्न सकिने शंखेश्वर शिवालयमा पर्यटन प्रवद्र्धनको सम्भावना प्रचुर रहेको स्थानीयको भनाइ छ । 


गाउँपालिकाले इन्द्रेणीपोखरी, कालिका भगवती मन्दिर, टुँडिखेल, सेल्मेगुराँस पार्क, कपासे भञ्ज्याङ, साकेला थान, गुप्तेश्वर नाछिरिङ महादेवथान, लुछुम्बु झरना, लुखुराटार, सिकारी थुम्को, रोक्सिङ भञ्ज्याङ, पञ्चकन्यदेबी नराहा, भैरवीनाथ मन्दिर, गणेश मन्दिर, बाघे ढुंगा, रक्तमालादेवी लगायतका धार्मिक तथा पर्यटकीयस्थलको पर्यटन प्रवर्द्धनकाे काम भइरहेको छ ।

 

थामखर्क विमानस्थलभन्दा केही माथि रहेको शिवालयमा सडकबाट दुई-तीन मिनेटमै पुग्न सकिन्छ । बिक्रम संवत १९९३ सालमा स्थापना भएको शिवालय आसपासमा ढकमक्क गुराँस फुल्ने गरेको छ । सौन्दर्यको खानी भएको खोटाङमा धार्मिक पर्यटन भित्राउन सके जिल्लामा थप विकास हुने अपेक्षा जनप्रतिनिधिको छ ।