close

बजार अनुगमन टोली जब फक्ताङलुङ पुग्यो (भिडियो खबर) 

बजार अनुगमन टोली जब फक्ताङलुङ पुग्यो (भिडियो खबर) 

ADVERTISEMENT

ताप्लेजुङ- उपभोक्ता हित संरक्षण ऐनले हरेक नागरिकको स्वच्छ र सफा खाद्यान्नको अधिकार सुनिश्चितता भए-नभएको अनुगमन गर्ने र नभएमा त्यस्ता व्यापारी र व्यवसायीलाई कारवाही गर्ने सामथ्र्य राख्दछ । पछिल्लो समय पैसा कमाउनका लागि अखाद्य वस्तु विक्री गर्ने लहर शहरमा मात्रै होइन गाउँघरमा पनि बढ्दै गएको छ ।

 

त्यसैलाई रोक्न अहिले अनुगमनलाई तीव्रता दिइएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा पनि पहिलोपटक बजार अनुगमन गरिएको छ भने यसलाई नियमित गराउने तयारी गरिएको छ । 


कञ्चनजंगा पदमार्गमा पर्ने यो बजार कुनै बेला निकै व्यस्त मानिन्थ्यो । फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र तापोथोक भएपनि सिँवा बजार गाउँपालिकाकै आर्थिक मुकामको रुपमा मानिन्छ । व्यावसायिक केन्द्र भएकोले सिँवा बजारमा बजार पसल बढेको भएपनि बजार अनुगमन भने न्यून मात्रै हुन्छ ।

 

यो खडेरीलाई तोड्दै गाउँपालिका,जिल्ला प्रशासन र घरेलु कार्यालयले संयुक्त रुपमा बजार पसल अनुगमन सुरु गरेको छ । 


अनुगमनका लागि पहिलो पटक यो टोली फक्ताङलुङ पुगेको हो । स्थानीयका अनुसार अहिले सम्म अनुगमनका लागि सिँवा बजारमा कोहि पुगेका थिएनन् । त्यही भएर होला, अनुगमन टोली पनि हल्का रुपमा प्रस्तुत भएको थियो ।

 

म्याद गुज्रेका र अखाद्य सामग्री बेच्न नहुने, नियमक निकायमा व्यवसाय दर्ता गर्नुपर्ने, ढक तराजुको व्यवस्थापन सहितका विषयमा विक्रेतालाई सचेत पार्दै अनुगमन टोलीले उब उप्रान्तको अनुगमन कडा हुने जनाएको छ ।

 

पहिलो पटकको अनुगमन भएकोले नियमक निकायमा व्यवसाय दर्ता र उपभोक्ताको हित अनुकुल मात्रै विक्री बितरणका लागि व्यवसायीलाई अनुरोध गरेर टोली फर्किएको हो । तर, कार्यविधि बनाएर हरेक पालिकामा नियमित रुपमा बजार अनुगमन गरिने टोलीले जनाएको छ । 


यता, अब हुने अनुगनमा सचेत पार्ने कामलाई तीव्रता दिइने र करको दायरमा ल्याउने तयारी अघि बढाइएको छ । 


फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ का सदस्य तेजबिर लिम्बू पहिलो पटक बजार अनुगमन भएकोमा गर्व गर्छन् । आफुहरुले पनि अखाद्य र म्याद नाघेका बस्तु विक्री गर्न नहुने भनेर सल्लाह दिने गरेपनि जिल्लाबाट कोही अनुगमनमा नआउँदा आफुहरुले पनि भनेजस्तो अनुगमनमा ध्यान नदिएको बताउँछन् । 

 

सिँवा बजारमा भने यो अनुगमनै पहिलो पटक भएको हो । नियमित रुपमा बजार अनुगमन गर्ने हो भने उपभोक्ताको हितलाई ध्यानमा राखेर कारोवार गर्न सकिने विषयमा बिक्रेता सजग र संवेदनशील हुन आवश्यक छ । तर, त्यसका लागि बजार अनुगमन नियिमत र प्रभावकारी हुन जरुरी छ ।