close

बुटवलमा सडक क्षेत्रभित्र परेका घरमा पस्यो डोजर 

बुटवलमा सडक क्षेत्रभित्र परेका घरमा पस्यो डोजर 

Trulli
ADVERTISEMENT

रूपन्देही- डिभिजन सडक कार्यालय बुटवलले बुटवलमा सडक क्षेत्रभित्र परेका घरमा डोजर लगाएर भत्काउन सुरु गरिएको छ । सडक क्षेत्र मिचेर बनेका घरटहरा खाली गराउन अदालतले बाटो खोलिदिएपछि डिभिजन सडक कार्यालय बुटवलले आइतबारबाट सडक क्षेत्रभित्र परेका घरमा डोजर लगाएर भत्काउन सुरु गरेको हो ।


बुटवल-बेलहिया व्यापारिक मार्ग सडक विस्तार आयोजनाले सडक क्षेत्र मिचेर बनेका घरटहरा खाली गर्न दिएको २४ घन्टे अल्टिमेटमको समय सकिएपछि डोजर लगाएर घर भत्काउन सुरु गरेको हो ।


उक्त म्यादमा केही घरधनीले सडक क्षेत्र मिचेर बनेका संरचना भत्काउन सुरु गरे पनि केहीले अटेर गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरी बुटवलको ट्राफिक चोकबाट सडक मिचेर बनाएका घरटहरा भत्काउन सुरु भएको छ ।

 

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक खण्डमा ३ सय १० घर र बाँकी ४७ खाली जग्गा गरी ३ सय ५७ जनाले सडक क्षेत्र मिचेकामा २ सयभन्दा बढीले यसअघि नै घर भत्काइसकेका छन । उक्त सडक खण्ड ६ लेनको बनाउने क्रममा केही घरधनीले अदालतमा मुद्दा हालेपछि सडक विस्तारको काम डेढ वर्षदेखि रोकिएको थियो ।


घरधनीका तर्फबाट नारायणीदेवी प्रधानलगायतका २४ जनाले अदालतमा मुद्दा हालेपछि सडक विस्तार रोकिएको थियो । तर, सर्वोच्च अदालतले २० पुसमा पछिल्लो रिट निवेदनमा गत ९ असारमा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो ।

 

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेको हो । सडक क्षेत्र मिचेर बनाइएका घरटहरा हटाउन पटक-पटक आग्रह गरे पनि अटेर गरेपछि बाध्य भएर डोजर लगाएर भत्काउन थालेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए ।


डेढ वर्षअघि उच्च अदालत तुलसीपुर, बुटवल इजलासले पछिल्लो पटक जग्गाधनीलाई जिल्ला प्रशासन कार्यालयमार्फत कानुनी प्रक्रिया पुर्‍याएर मुआब्जा दिएपछि मात्र सडक विस्तार कार्य गर्नू भन्ने आदेशसँगै बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तार अवरुद्ध भएको थियो ।