close

खसी चाहियो ? जनप्रतिनिधिले दिन्छन् (भिडियो खबर)

खसी चाहियो ? जनप्रतिनिधिले दिन्छन् (भिडियो खबर)

ADVERTISEMENT

म्याग्दी- सेवाका लागि गरिने राजनीति पछिल्लो समय पद, पैसा र प्रतिष्ठाका लागि दुरूपयोग हुँदा बद्नाम बनेको छ । 


तर, कतिपय यस्ता पनि जनप्रतिनिधि र राजनीतिकर्मीहरू छन्, जो आफैँ कृषि उद्यम, व्यवसाय गरेर आत्मनिर्भर बनेका मात्र छैनन्, राजनीतिको इमान बचाउन र समाजलाई सकारात्मक सन्देश दिन सफल भएका छन् । यसैमध्येका एक हुन्-म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका वडा नं. २ भुरुङ-तातोपानीका वडा सदस्य बुद्धि पुन । 


पुनले जनप्रतिनिधि र राजनीतिकर्मीका साथै जिल्लाकै एक सफल कृषि उद्यमीका रूपमा परिचय बनाउन सफल भएका छन् । ठूलोबगर बाख्रा फार्मले उनलाई नाम र दाम दिलाएको हो ।


‘२०६८ सालमा सुरु गरेको फार्ममा हाल स्थानीय खरी, जमुनापारि, बोयर र बोयर क्रस जातका ९० वटा बाख्रा छन्’, उनले भने, ‘वडा, गाउँपालिका र राजनीतिक कामबाट बचेको बिहान–बेलुकी र फुर्सदको समय बाख्रा फार्ममा लगाएको छु ।’ 


तत्कालीन माओवादी केन्द्रबाट चुनाव जितेका ४६ वर्षीय पुन नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य, सर्वोदय माविको व्यवस्थापन समिति अध्यक्ष, जिल्ला बाख्रा पालक कृषक संघलगायत संघसंस्थामा सक्रिय छन् । 


राजनीतिको सेवाको सिद्धान्तलाई बचाई राख्नु, आफ्नो र परिवारका लागि आवश्यक आर्थिक स्रोत जुटाउनुका साथै स्वरोजगार र आत्मनिर्भरताको सन्देश प्रवाह गराउने कृषि उद्यमको उद्देश्य भएको पुन बताउँछन् ।  


‘समय व्यवस्थापन गर्न गाह्रो भए पनि बाख्रा पालनबाट आफ्नालागि आवश्यक पर्ने व्यक्तिगत खर्च, घरखर्च चलाउन, छोराछोरी पढाउन पुगेर बचत पनि भएको छ’, पुनले भने, ‘गत वर्ष ६ लाख रुपैयाँको खसी बिक्री गरँे । १५ वटा खसी बिक्रीका लागि तयारी अवस्थामा छन् ।’


नजिकै निर्माणाधीन जलविद्युत आयोजनाका क्याम्प र पर्यटकीय स्थलका होटलमा आवश्यक पर्ने मासुका लागि उनले पालेका खसी, बोका बिक्री हुन्छन् । ग्राहक घरमै आउने भएकाले बजारको समस्या छैन । फार्ममा परिवारका ४ जना सदस्यबाहेक एक जनाले रोजगारी पाएका छन् । 


रोजगारीको खोजीमा सिंगापुर पुगेका पुन त्यहाँ एक वर्ष बसेर फर्किएपछि ४ लाख रुपैयाँ लगानी गरेर बाख्रा पालन सुरु गरेका थिए । २५ लाख रुपैयाँभन्दा बढीको पूर्वाधार निर्माण भएको सो फार्मको पुँजी करिब ४० लाख रुपैयाँ पुगेको छ । उनलाई बाख्रा पालनमा श्रीमती डिलकुमारी र छोरीहरूले साथ दिएका छन् । 


फार्मको पूर्वाधार निर्माणमा भेटेरेनरी अस्पताल तथा पशु सेवा कार्यालयले सघाएको छ । बाख्राका साथै २ वटा पोखरीमा ग्रास र कमन कार्प जातका माछा पनि पालेका छन् । बाख्राको नश्ल सुधार गर्न उन्नत बोयर जातको बोका ल्याएका छन् ।  


पुनको बाख्रा पालन व्यवसायले स्वदेशमै स्वरोजगार तथा आत्नर्भिर बनेर सामाजिक क्षेत्रमा पनि योगदान गर्न सकिने सन्देश दिएको छ । भाषण, योजना र गफले नभएर मिहिनेत, समय व्यवस्थापन र इच्छाशक्तिले मात्र समृद्धि सम्भव छ भन्ने उदाहरण पुनले दिएका स्थानीय बताउँछन् ।