close

ताप्लेजुङमा निर्वाचन कार्यालयले थाल्यो निर्वाचन तयारी

ताप्लेजुङमा निर्वाचन कार्यालयले थाल्यो निर्वाचन तयारी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन प्रयोजनका लागि २८ पुसमा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस गर्ने भएको छ । 


जिल्लामा क्रियाशील राजनीतिक दलको २८ पुसमा डाकिएको भेलाबाट जिल्लाभित्र रहने मतदान स्थल तथा मतदान केन्द्रबारे निर्णय लिइने जिल्ला निर्वाचन अधिकारी मोहनप्रसाद कोइरालाले बताए ।

 

उनका अनुसार मतदान स्थल तथा मतदान केन्द्र सिफारिस गर्न राजनीतिक दलका १-१ जना प्रतिनिधिलाई छलफलका लागि बोलाइएको हो । जिल्ला निर्वाचन कार्यालयले नेकपाका दुवै समूह, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माले जनसमाजवादी)लाई उपस्थितिका लागि आयोगले पत्र काटेको छ ।

 

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) र युनाइटेड ग्रीन अर्गनाइजेसनलाई पनि उपस्थितिका लागि पत्र लेखेको छ । आगामी १७ र २८ वैशाखामा हुने निर्वाचन प्रयोजनका लागि मतदान स्थल तथा मतदान केन्द्र सिफारिस गर्न दलहरूलाई पत्र पठाइएको हो । 

 

ताप्लेजुङमा गत ५ पुससम्म ८५ हजार ४ सय ६९ जना मतदान योग्य नागरिकले नाम दर्ता गराएका छन् । ८६ हजार ७ सय ७२ जनाले नाम दर्ता गराएकामा अरू भने १८ वर्षभन्दा कम उमेरका नागरिक छन् ।

 

निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार यहाँ ४५ हजार २ सय २१ पुरुष र ४० हजार १ सय ४८ महिला गरी ५ पुस सम्म ८५ हजार ४ सय ६९ जना मतदान योग्य नागरिक छन् ।