close

जनता समाजवादीकाे बेग्लै सुरक्षा दल

जनता समाजवादीकाे बेग्लै सुरक्षा दल

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङमा जनता समाजवादी पार्टीले सुरक्षा दल घोषणा गरेको छ । पार्टीले सञ्चालन गर्ने हरेक गतिविधिको सुरक्षार्थ जनता समाजवादी पार्टीले हुपबहादुर रानामगर इन्चार्ज र टीकाराम राई संयोजक रहेको १ सय १ सदस्यीय सुरक्षा दल घोषणा गरेको हो ।


प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटनविरुद्ध बृहत् मोटरसाइकल र्‍याली निकाल्नुअघि जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंक थापाले शनिबार दिक्तेलको भवनगैरामा सुरक्षा दल गठनको घोषणा गरेका हुन् । 

 

आवश्यकताअनुशार पार्टी मातहत परिचालन हुने गरी गठन गरिएको सुरक्षा दलको सह-संयोजकमा देवान राई, देउमान राई, धनीराम राई नछुङ, पारस राई, रामकाजी राई र विकास राईलाई चयन गरिएको छ ।


सरकार स्वयं लोकतान्त्रिक शासनविरुद्धमा उभिने देशमा गणतन्त्र, लोकतन्त्र, संघीयता, समावेशिता र धर्म निरपेक्षताको सपना र योजना बोकेको पार्टीलाई रक्षा गर्दै लक्ष्यमा टेवा पुर्‍याउन सुरक्षा दल गठन गरिएको जनता समाजवादी पार्टीले जनाएको छ ।


सुरक्षा दल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सूर्य राईले कमिसनखोर, गुन्डागर्दी र भ्रष्टाचारीलाई तह लगाउँदै जनतामाथि हुने सबै किसिमका अन्यायविरुद्ध लड्न सुरक्षा दलको जन्माएको बताए ।

 

‘हाम्रा सुरक्षा दल अराजक हुने छैनन् । हतियार र बलले होइन, ज्ञान, बुद्धि-विवेक, कला र सीपयुक्त हुनेछन्,’ राईले भने, ‘हाम्रा युवा आयोजनामा कमिसन उठाउन जाने छैनन् । वरु त्यस्ता कमिसनवाला, गुन्डालाई तह लगाउन, दलाल भ्रष्टाचारीलाई टुंगो लगाउन, जनतालाई आइपर्ने जुनसुकै अन्याय र विपद्मा सहयोग गर्न अग्रसर हुनेछन् ।’


केन्द्रीय सदस्य राईले वर्तमान संविधान र व्यवस्थाको रक्षा गर्दै अधुरो संविधानमा शासकीय स्वरूप, निर्वाचन प्रणाली, नागरिकतासम्बन्धी व्यवस्थालाई सच्याएर मुलुकलाई अग्रगमनतर्फ लैजान सुरक्षा दलको महत्त्वपूर्ण योगदान रहने दाबी गरे ।


जिल्लामा हुने भ्रष्टाचार र अनियमितता गर्ने व्यक्तिलाई नंग्याउने काममा सुरक्षा दललाई परिचालन गरिने जसपा प्रदेश समिति सदस्य नवीन राईले बताए ।


‘सुरक्षा दलमा आबद्ध युवामार्फत जिल्लामा भ्रष्टाचार र अनियमिततामा संलग्नको खोजी सुरु गरिनेछ,’ प्रदेश समिति सदस्य राईले भने, ‘अव सुरक्षा दलमार्फत त्यस्ता व्यक्तिलाई नंग्याउने काम हुन्छ । हाम्रा युवाले कमिसनका लागि बार्गेनिङ गर्दैनन् बरु भ्रष्टाचारीलाई तह लगाउने काम गर्छन् ।’