close

हिउँदेसभामा पनि योजना छनोट

हिउँदेसभामा पनि योजना छनोट

Trulli
ADVERTISEMENT

बागलुङ- बडिगाड गाउँपालिकाले हिउँदे गाउँसभाबाट पनि योजना छनोट र बजेट विनियोजन गरेको छ । कानुन बनाउनका लागि हुने गाउँसभाले अघिल्लो आर्थिक वर्षको बाँकी बजेटलाई योजनाहरूमा बाँडफाँट गरेको हो ।


चालू आर्थिक वर्षको मध्य अवधिमा ६ वटा योजनाका लागि साढे ३ करोड रुपैयाँ बाँडफाँट गरिएको हो । गत आर्थिक वर्ष २०७६/०७७ को ३ करोड ५२ लाख रुपैयाँबाट चालू आर्थिक वर्षमा सम्पत्तिको रूपमा जम्मा गरेर सडक, कृषि र शिक्षा क्षेत्रका ६ वटा योजनामा विनियोजन गरिएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए । 


गाउँपालिकाले आठौँ गाउँसभामार्फत अत्यावश्यक योजनाहरूमा रकमान्तर गरेर बजेटको व्यवस्था मिलाएको छ । आर्थिक वर्षको आधा अवधि सकिँदासमेत काम नभएका र सम्झौता गर्न नआएका योजनाहरूलाई ताकेतासमेत गरिएको उनले बताए ।

 

गाउँसाभाले भलामी-सिसाखानी मोटरबाटो निर्माणका लागि २५ लाख, ग्वालीचौर-छहरा-दिपायर सडकका लागि २० लाख, भीमगिठे-गोठान सडकका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको सूचना अधिकारी थम्मनबहादुर रेश्मीले जानकारी दिए । त्यस्तै, गाउँसभाले कृषि तथा पशु सेवातर्फ १ करोड ३५ लाख, स्वास्थ्यतर्फ ५० लाख र शिक्षातर्फको ५० लाख रुपैयाँ बजेटलाई बाँडफाँट गरेको हो । 


कृषि तथा पशुपालनका योजनाबाट किसानलाई बिउ पुँजी र तालिम तथा प्रविधिको हस्तान्तरण हुनेछ । ‘हामी कृषिमा आत्मनिर्भर बन्न चाहन्छौँ, बजेट अधिवेशनका बेला छुटेका क्षेत्रसमेत हिउँदे अधिवेशनबाट समेट्न खोजिएको छ’, अध्यक्ष पाइजाले भने, ‘अत्यावश्यक सडकमा लगानी हुनेछ, बाँकी अघिल्लो वर्ष बचेको प्रयोग गर्न मिल्ने बजेट कृषि र शिक्षा तथा स्थास्थ्य क्षेत्रमा खर्च हुनेछ ।’


त्यस्तै, लक्षित वर्गतर्फ महिला तथा बालबालिकाका लागि ११ लाख रुपैयाँ विनियोजन भएको छ । गाउँसभाले तत्काल कार्यविधि बनाएर लक्षित वर्गका कार्यक्रमहरू संचालनमा ल्याउन निर्देशन दिएको छ ।

 

जनजातिका लागि ७ लाख, दलितका लागि ५ लाख, ज्येष्ठ नागरिक कार्यक्रमका लागि ५ लाख, अल्पसंख्यकका लागि २ लाख, मुस्लिमका लागि २ लाख र अपांगता भएकाहरूका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 


संघीयता कार्यान्वयनपछि लक्षित वर्गका लागि बजेटको व्यवस्थापन हुन सकेको थिएन । गाउँसाभाले हालसम्मको खर्च र केही कार्यविधिहरूसमेत पारित गरेको छ ।