close

जुम्लाको पातारासीमा ५ शय्याको कोभिड अस्पताल

जुम्लाको पातारासीमा ५ शय्याको कोभिड अस्पताल

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको पातारासी गाउँपालिकाले कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको छ । आइतबार औपचारिक रूपमा उद्घाटन गर्दै पातारासी गाउँपालिकाले ५ शय्याको भिन्नै कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको हो । 


कोरोना संक्रमणका बिरामीको पालिकामै प्राथमिक उपचारका लागि कोभिड अस्पताल संचालनमा ल्याइएको पातारासी गाउँपालिकाका स्वास्थ्य संयोजक रतनबहादुर बुढथापाले बताए ।


उनका अनुसार कोरोना भाइरसका बिरामी भइहालेमा भिन्नै उपचार गर्ने उद्देश्यका साथ अस्पताल सुरु गरिएको हो । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाको प्रमुख आतिथ्यतामा पालिकाका अध्यक्ष लक्षिमन बोहोराले कोभिड अस्पतालको उद्घाटन गरेका हुन् । कोभिड अस्थायी अस्पताल उद्घाटन गर्दै अध्यक्ष बोहोराले अहिले पनि कोरोना संक्रमण कम नभएको भन्दै कठिन अवस्था आएमा उपचारका लागि अस्पताल संचालनमा ल्याइएको बताए । 


जोखिम आइहालेमा स्वास्थ्यकर्मीहरूले निरन्तर काम गर्ने र गाउँपालिकाले कोरोनाबाट जोगाउन आर्थिक, भौतिक सहयोगमा कुनै कुरामा कमी नगर्ने अध्यक्ष बोहोराले प्रतिबद्धता जनाए ।


कोभिड अस्पताल व्यवस्थापनका लागि संघीय सरकारले १० लाख रुपैयाँ सहयोग गरेको छ । पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले भने, ‘कोभिड अस्पतालमा एक जना मेडिकल अफिसर, २ जना स्टाफ नर्स र कार्यालय सहयोगीको दरबन्दी छ । तर, अहिलेसम्म मेडिकल अफिसरको दरखास्त परेको छैन । अरू स्टाफ भर्ना गरी काम सुचारु गरिएको छ ।’


पातारासी गाउँपालिकाकी उपाध्यक्ष पुन्नकली महताराले दुर्गमका नागरिकहरूको स्वास्थ्य अधिकार सुनिश्चितताका लागि पनि पालिकाले स्वास्थ्य क्षेत्रलाई प्रथामिकता दिएर काम गरिरहेको बताइन् । प्रशासनको तथ्यांकअनुसार जुम्लामा ११ हजार ६३९ जनालाई कोरोना परीक्षण गरिएकामा ४६३ जना संक्रमित भएका छन् । तीमध्ये ४५१ जना निको भएर घर फर्किएका छन् भने १२ जना अझै सक्रिय संक्रमित छन् ।