close

आवश्यक परे मात्र संविधान संसोधन हुन्छ (भिडियाेसहित)

आवश्यक परे मात्र संविधान संसोधन हुन्छ (भिडियाेसहित)

ADVERTISEMENT

मधेसी दलसँगको संलग्नता त्यागेर प्रतिनिधिसभा निर्वाचनमा नेकपाको सूर्य चिन्ह लिएर निर्वाचन जितेका नेता हृदयश त्रिपाठी अहिले संघीय मामला मन्त्री छन् । संघीयता कार्यान्वयनको महत्त्वपूर्ण पाटो कर्मचारी व्यवस्थापन हुन नसक्दा धेरै स्थानीय तह कर्मचारी अभाव झेलिरहेका छन् । संविधान निर्माणको ५ वर्षमा कर्मचारी प्रशासनमा भएका सुधार, स्थानीय तहमा कर्मचारी पठाउने र संविधानको सर्वस्वीकार्यताका विषयमा पालिकाखवरले उनीसँग गरेको कुराकानी ।

 

संविधान जारी भयो ५ वर्ष बितिसक्दा पनि कतिपय अधिकार स्थानीय तहसम्म पुग्न नसकेको र यसमा अनेक बाधा–अड्चन छन् भन्ने गुनासो आइरहेका छन् । तल्लो तहसम्म संघीय सरकारले अधिकार पठाउन कन्जुस्याइँ गरेको ?

स्थानीय तहलाई अधिकार दिन संघबाट कन्जुस्याइँ भएको छैन । संविधान अनुकूलका निर्वाचित संस्थाहरू खडा भएकाछन् । तर, द्विविधा कहाँ भयो भने निर्वाचन पहिला भयो, अधिकारको खोजी पछि । स्थानीय तहको काम-कर्तव्य र अधिकार निर्धारण नहुँदै चुनाव भयो । 

 

त्यसकारण उम्मेदवारहरूले घोषणापत्र जारी गरेर चुनाव लडे । उल्टो बाटो त्यहाँबाटै सुरु भयो । दोस्रो कुरा, संविधानले अनुसूची जारी गरेको छ । त्यो अनुसूचीको अधिकारअनुसार नै अगाडि बढ्नुपर्छ । स्थानीय तहको निर्वाचन पहिला भयो, पछि प्रदेश र संघको चुनाव भयो । त्यसबेला चुनाव गर्ने सरकारले कानुनी संरचना निर्माण नगरेकै हो ।

 

संविधान बनेपछिको पाँच वर्षको समय प्रशस्त होइन र ?

चुनाव भइसकेपछि मात्र संविधान अनुकूल नहुने संघीय कानुन फेरबदल भए । प्रदेशका संरचना पनि कानुनअनुसार भन्दा कार्यकारी निर्णयद्वारा मन्त्रालयहरू गठन भए । स्थानीय तहको विषयमा पनि हामीले मोडल कानुन बनाएरै पठाएका छौं । हामी स्थानीय सरकारलाई हस्तक्षेप गर्दैनौं । हाम्रो संविधानले दुई किसिमको निर्वाचन प्रणाली स्वीकारेको छ । 

 

संविधानले संघ र प्रदेशमा संसदीय निर्वाचन प्रणाली  र स्थानीय निर्वाचनमा कार्यकारी प्रमुख नै जनताबाट निर्वाचित हुने गर्छन् । नेपालका स्थानीय सरकार असाधारण अधिकारयुक्त निकाय हुन् । स्थानीय सरकार सर्वशक्तिमान हुन् । संघ र प्रदेशसभा भंग हुन सक्छन् तर स्थानीय सरकार त्यसबाट पर छन् ।

 

अहिले तपाईंले संघीय मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएको छ ।स्थानीय सरकारले अधिकार पाएनौं भनिरहँदा कतै संघीयतामाथि प्रश्नचिह्न खडा भयो भन्ने लाग्दैन ?

संघीयता भनेको स्थानीय सरकारमात्रै हुन् भन्ने सोच गलत हो । अहिले पनि हाम्रो संविधानले के व्यवस्था गरेको छ भने स्थानीय कर्मचारीहरू प्रदेश निजामती कानुन बनेपछि निर्देशित हुनेछन् भनेको छ । हाम्रो संघीयता भनेको साझेदारी, सहकार्य र समन्वयमा आधारित हो, जुन संविधानले नै व्यवस्था गरेको छ । 

 

भौगोलिक संरचनामा हामीले बढी जोड दियौं तर राज्य पुनर्संरचनामा दिएनौं । लडाइँ र झगडा जिल्ला र भूगोलमा मात्र भयो । स्थानीय र प्रदेशमा अझै कर्मचारी अभाव छ । संघले कर्मचारी समायोजन गर्यो तर समायोजनमा विकृति देखियो । संघमा ४९ हजार कर्मचारी थुपारियो । 

 

सुगमका पालिकामा जान कर्मचारीमा होडबाजी छ । दुर्गम, पहाड र तराईका जिल्लामा कर्मचारी नै छैनन् । कहिले हट्छ कर्मचारी अभाव ?

८८ वडा पालिकामा तहअनुसार कर्मचारी छैनन् भने १ सय १६ वटा नगरपालिकामा उपसचिव अर्थात् प्रशासकीय अधिकृत छैनन् । निमित्तको भरमा चलिरहेका छन् । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले पनि तहअनुसार कर्मचारी नभएका ठाउँमा बढी बेरुजु देखायो ।  

 

कर्मचारी काठमाडौं केन्द्रित हुँदा समयोजनाले झनै समस्या थप्यो । अहिले मन्त्रालय तहअनुसार कर्मचारी पठाउन लागिरहेको छ । समायोजनको त्रुटि सच्याउँदासच्याउँदै मेरो ८ महिना समय बित्यो ।

 

कोरोना महामारी नियन्त्रण र राहत वितरणमा स्थानीय सरकारले गरेको खर्च रुजु हुन्छ कि बेरुजु ?

कतिपय स्थानीय निकायले कोरोना संक्रमणको फाइदा उठाएर नागरिकलाई कुहिएको चामल र दाल बाँडेका छन् । त्यस्तालाई कारबाही गरिएको छ । केन्द्रले पैसा पठाएपछि खर्च गर्ने निकाय नै जिम्मेवार हुन्छ । आर्थिक ऐनले यही भन्छ ।

 

केन्द्रबाट स्थानीय सरकारमा जाने समानीकरण अनुदानमा स्थानीय सरकारको गुनासो छ । आवश्यक्ता कसलाई बढी दिने हो, त्यो किन हेरिँदैन ?

 

वित्त आयोगले बनाएको फर्मुलाअनुसार अनुदान गएको हो । वित्त आयोग गठन नहुँदा अर्थमन्त्रालयले पठाउँदा केही तलमाथि भएकै हो ।स्थानीय तहमा भूगोल र जनसंख्याको आधारमा नै अनुदान जाने हो । 

 

स्थानीय सरकारका जनप्रतिनिधिको कार्यकाल उत्तराद्र्धमा छ  । कार्यकाललाई तपाईंले कसरी मूल्यांकन गर्नुभएको छ ?

 

कानुन नै नबनेका बेला जनप्रतिनिधिहरू निर्वाचित भए । उनीहरूका लागि केही समय अलमल भयो ।सुरुमा करको लफडा चल्यो  । अहिले त्यसमा सुधार आएको छ । स्थानीय सरकारलाई कामको बोझ बढी छ । त्यस्तै,कर्मचारी अभाव त छँदै छ । 

 

गाउँघरमा आवश्यक्ताअनुसार विकास अघि बढेको छ । महालेखा परीक्षकले संघ, प्रदेश र स्थानीय सरकारको लेखा परीक्षण गर्छ । संघको प्रतिवेदनमा सार्वजनिक लेखा समितिर प्रदेशको प्रदेश लेखा समितिले छलफल गर्छन् । तर, स्थानीय तहको प्रतिवेदन छलफल गरेर निर्णय गर्ने संरचनै छैन । त्यो संरचना बनाउनुपर्नेछ ।

 

महामारीका बेला संघीयताले आफ्नो औचित्य प्रमाणित गरेको छ । त्यो हो- स्थानीय सरकार । हिजोका दिनमा यी काम हुन सकेका थिएनन् ।

 

अझै ६० भन्दा बढी स्थानीय सरकारले बजेट ल्याउन सकेका छैनन् । संघीय सरकारले यसमा सहजीकरण गर्छ ?

 

हामीले सहजीकरण गर्ने प्रशासकीय अधिकृतमार्फत हो । यस विषयमा हस्तक्षेप गर्दैनौं । सहजीकरण नै गर्ने हो । समयमा बजेट नल्याउने त्यस्ता स्थानीय सरकारको अनुदान पहिला पनि रोक्का भएको छ ।

 

अहिले स्थानीय सरकार सञ्चालन ऐन संशोधनको चर्चा छ । यतिबेला आवश्यक हो ?

 

संशोधन स्थानीय सरकारबाट पनि माग भएको छ । अरु ऐनसँग बाझिएकाले संशोधन गर्नु परेको हो । संशोधनमा  स्थानीय तहको प्रतिवेदन छलफल गर्ने लेखा समितिको संरचना आउँछ । अहिले ऐन संशोधन नगरिए पछि झनै समस्या हुन्छ । 

 

आज संविधान दिवस यसबारे तपाईंका प्रतिक्रिया ?

 

अहिले देश कोरोनासँग जुधिरहेको छ । सरकारको मूल काम के भने जनताको जीवन जोगाउने र जनजीवन सहज बनाउने हो । दुई शताब्दीदेखिको एउटा विषय निरुपण हुन सकेको थिएन,राजकीय सत्ता र सार्वभौमसत्ता कहाँ रहने, जनतामा रहने कि राजामा रहने भन्ने विषय ।

 

तर, यो संविधानले त्यो विषय निरुपण गरेको छ । सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा निहित रहने यो संशोधनको महत्वपूर्ण पक्ष हो ।केही राजनीतिक दल संविधान संशोधनको विषय उठाइरहेका छन् । यो चै आवश्यकताका आधारमा हुने हो । आवस्यकता परे संशोधन हुन्छ नै ।