close

बाल विवाह रोक्न बुहारीलाई स्वागत 

बाल विवाह रोक्न बुहारीलाई स्वागत 

Trulli
ADVERTISEMENT

बाग्लुङ- बाग्लुङको बरेङ गाउँपालिकाले बाल विवाह निरुत्साही गर्न बुहारी स्वागत कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले बनाएको मापदण्ड पूरा गरेर विवाह गरेका बुहारीलाई पालिकाले स्वागत तथा सम्मान गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

 

गाउँपालिकाले स्वागत तथा सम्मान गर्ने बुहारी कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ । ‘कम्तीमा आधारभूत तहको शिक्षा आर्जनपछि मात्रै बिहे होस् भन्ने हाम्रो चाहना हो,’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘अशिक्षाका कारण हुने बालविवाह रोक्न यसले मद्दत गर्छ ।’ 


नयाँ बुहारीले सम्बन्धित स्थानीय पञ्जाधिकारीसमक्ष विवाह भएको ३५ दिनभित्र विवाह दर्ता भएको हुनुपर्छ । बाल विवाहको दर्ता नहुने भएकाले स्वागत तथा सम्मान गर्ने बुहारीले विवाह दर्ता अनिवार्य गरेको हुनुपर्ने मापदण्ड बनाइएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए ।


‘समाज परिवर्तन गर्न सहज छैन तर हामीले सजिलो तरिका अपनाएर पनि परिवर्तन गर्न सक्छौँ,’ थापा भन्छन्, ‘शिक्षा र सरकारी प्रक्रिया अनिवार्य गरेर स्थानीय सरकार घर-घरमा पुग्दा समस्या पहिचान र समाधानमा सहज हुन्छ ।’ 

 

मापदण्ड पूरा भएका बुहारीलाई सम्बन्धित वडा समितिको निर्णयानुसार छनोट गरी प्रत्येक १-१ महिनामा एउटा कार्यक्रम गरी सम्बन्धित वडाको स्वास्थ चौकी, आमा समूह, युवा क्लबका प्रतिनिधि एवं सेवा क्षेत्रभित्रका विद्यालयका प्रधानाध्यापकको अनिवार्य उपस्थितिमा सम्मान गरिनेछ । 


गाउँपालिकाले छनोट भएका नवदम्पतीका लागि अवश्यक पर्ने पारिवारिक जीवनसँग सम्बन्धित पुस्तक, पारिवारिक योजना निर्माणका लागि आवश्यक पर्ने कापी र कलम, स्वास्थ एवं सरसफाइसम्बन्धी सामग्रीसमेत सम्मान कार्यक्रममा वितरण गर्ने कार्यविधि बनाएको छ । 

 

यो कार्यक्रमले नवदम्पती बुहारीलाई समाजमा घुलमिल हुने वातावरण सिर्जना गरी सामाजिकीकरणमा सहयोग गर्ने उपाध्यक्ष दिलकुमारी पुनको बुझाइ छ ।

 

‘सामाजिक मेलमिलापसहित सभ्य समाज निर्माणका लागि उत्प्रेरित गर्ने, आधारभूत तहको शिक्षालाई अनिवार्य गर्ने, तोकिएको समय विवाह दर्तामा प्रोत्साहित गर्ने, व्यक्तिगत तथा पारिवारिक सरसफाइमा विशेष जोड दिन यसले सघाउनेछ’, पुनले भनिन् ।

 

गाउँपालिकाले बालविवाहमा कमी ल्याउन र सभ्य समाज निर्माणका लागि ‘बरेङ गाउँपालिकाको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा’ नारा बनाएको छ । सोही नाराका आधारमा ‘गाउँपालिकाको एउटै सन्देश बालविवाह मुक्त हाम्रो सरकार’ लक्ष्य लिएर कार्यक्रम बनाइएको उनले बताइन् ।

 

लक्षित वर्ग उत्थान कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट नयाँ बुहारी स्वागत कार्यक्रम सञ्चालन हुनेछ । बरेङले असल बुहारी सम्मान, आमाहरूलाई बोल्ने कलालगायतका कार्यक्रमसमेत निरन्तर सञ्चालन गर्दै आएको छ ।