close

कोरोना संक्रमितका परिवारलाई महालक्ष्मीको २५ हजार 

कोरोना संक्रमितका परिवारलाई महालक्ष्मीको २५ हजार 

Trulli
ADVERTISEMENT

धनकुटा- धनकुटाको महालक्ष्मी नगरपालिकाले कोरोना संक्रमित भई आईसीयूमा उपचार गराउनुपर्ने गम्भीर अवस्थाका बिरामीका परिवारलाई २५ हजार रुपैयाँ उपचार सहायता रकम वितरण सुरु गरेको छ । गत १९ कात्तिकमा बसेको नगर कार्यपालिका बैठकको निर्णयबमोजिम पहिलो पटक उपचार सहायता रकम प्रदान गरिएको हो ।


नगरपालिकाले कोरोना संक्रमित भई आइसीयूमा उपचार गराएकी एक महिलाको परिवारलाई आर्थिक सहयोग गरेको छ । नगरपालिकाको वडा नम्बर ४ चानुवाकी कोरोना संक्रमित ४५ वर्षीया इन्द्रकुमारी विश्वकर्माको परिवारलाई उपचार सहायतास्वरूप २५ हजार रुपैयाँ प्रदान गरिएको हो ।


दमारस्थित चानुवा माध्यमिक विद्यालयको वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख पर्शुराम नेपाल र उपप्रमुख मञ्जु कार्कीले इन्द्रकुमारीका श्रीमान गोविन्द विश्वकर्मालाई सहयोग रकम हस्तान्तरण गरे । 

 

रूखबाट लडेर गम्भीर घाइते भई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्‍याइएकी विश्वकर्मालाई गत कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । आईसीयूमा राखेर उपचार गरिरहेकै बेला उनको गत २७ कात्तिकमा निधन भएको हो ।


‘१९ कात्तिकको निर्णयअनुसार कोरोना संक्रमणका कारण आईसीयूमा उपचार गराउनुपर्ने गम्भीर अवस्थाका संक्रमितलाई २५ हजार रुपैयाँ नगरपालिकाले सहयोगस्वरूप उपलब्ध गराएको हो’, नगरप्रमुख नेपालले भने । 

 

आईसीयूमा उपचार गराउनुपर्ने नगर क्षेत्रका अन्य संक्रमितलाई पनि उपचार सहायता रकम प्रदान गरिने उनले जानकारी दिए ।