close

ओखलढुंगामा यसरी चल्दै छन् डाक्टरबिनाका प्रसूतिगृह (भिडियो खबर)

ओखलढुंगामा यसरी चल्दै छन् डाक्टरबिनाका प्रसूतिगृह (भिडियो खबर)

ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगाका स्थानीय तहले स्वास्थ्य तथा जनसंख्या ऐन कार्यान्वयनका लागि स्वास्थ्यसम्बन्धी स्थानीय ऐन निर्माण गरेर सेवा प्रवाह सुरु गरेका छन् । तर, सुनकोसी गाउँपालिकाले भने अहिलेसम्म स्वास्थ्य ऐन निर्माण गरेको छैन ।

 

निर्माण गरेको शिक्षासम्बन्धी ऐनसमेत राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनमा ल्याएको छैन । अझ, गाउँपालिका केन्द्रमा रहेको स्वास्थ्य चौकीको अवस्था भने नाजुक छ । 

 

सुनकोसीका १० मध्ये ४ वडामा मात्र प्रसूतिगृह सञ्चालनमा छन् । गाउँपालिका केन्द्रमै रहेको स्वास्थ्य चौकीले भत्किनै लागेको भवनबाट स्वास्थ्य सेवा दिइरहेको छ ।


ठाउँ अभाव भनेर प्रसूतिगृहका सामग्री गाउँपालिकाको स्टोरमै थन्किएका छन् भने त्यहाँका नागरिक प्रसूति सेवा लिन कि अर्को वडा, कि त समदरमुकाम ओखलढुंगा धाउन बाध्य छन् । 


स्वास्थ्य चौकीको भवनमा उपचार गर्न आउने बिरामीका लागि औषधी दिने र सामान्य परामर्श दिने २ वटा मात्र कोठा छन् । भत्किन लागेको भवन टालटुल गरेर सञ्चालनमा ल्याइएको छ । दक्ष स्वास्थ्यकर्मी भए पनि भौतिक पूर्वाधार नहुँदा सेवा सञ्चालन हुन सकेको छैन । 


अन्य ५ वडामा स्वास्थ्य इकाइ स्थापना गरेर सामान्य औषधी वितरण तथा खोप सञ्चालनका काम भए पनि प्रसूतिसहितको सेवा र पूर्वाधार छैनन् । गाउँमै पाउनुपर्ने स्वास्थ्य सेवा लिन यहाँका नागरिक अन्यत्र धाउनुपर्ने बाध्यता छ ।


स्वास्थ्य चौकीको भवन निर्माण थालिए पनि पूरा भएको छैन । तर, भवन निर्माण छिटोभन्दा छिटो सम्पन्न गरिने गाउँपालिकाले प्रतिबद्धता जनाएको छ । 


सरकारले मौलिक हकको रूपमा स्थापित गरेको स्वास्थ्य सेवालाई प्राथमिकतामा नराख्दा नागरिकले निःशुल्क पाउनुपर्ने सेवासमेत उपभोग गर्न कठिन बन्दै गएको छ ।