close

सुत्केरीलाई उपप्रमुखको कोसेली

सुत्केरीलाई उपप्रमुखको कोसेली

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाले सुत्केरी महिलालाई पौस्टिक खानेकुरा कोसेलीस्वरूप वितरण गर्न थालेको छ । सुत्केरीलाई 'उपमेयरको कोसेली' नाम दिएर स्वास्थ्यवर्द्धक सामग्री वितरण गरिएको हो ।


चार पटक स्वास्थ्य संस्थामा गर्भजाँच गराएर स्वास्थ्य बच्चा जन्माएका आमाहरूलाई कोसेली वितरण गर्न सुरु गरिएको पुर्चौडीका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए । गत वर्षजस्तै यो वर्ष पनि सुत्केरीका लागि 'उपमेयरको कोसेली' कार्यक्रमलाई निरन्तरता दिएको उनले बताए ।


ग्रामीण क्षेत्रका गर्भवती र सुत्केरी आमाहरूको स्वास्थ्य र पोषणमा ध्यान दिन कार्यक्रम सञ्चालनमा ल्याइएको पुर्चौडीका उपप्रमुख जानकी ऐर बमले बताइन् । 


उनले भनिन्, ‘अझै पनि समुदायमा गर्भवती र सुत्केरी आमाहरूलाई पोषिलो खानेकुरा दिनुपर्छ भन्ने चेतना विकास भइसकेको छैन । त्यसका लागि यो कार्यक्रम सञ्चालनमा ल्याएका हौँ । कम्तीमा घरपरिवारका सदस्यले गर्भवती र सुत्केरी आमाहरूलाई खानपिनमा प्राथमिकतामा राखून् भन्ने उद्देश्य हो ।’


कोसेलीमा दाल, गेडागुडी, किट र सरसफाइ सामग्री राखिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए । ‘स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई प्रोत्साहन भत्ता र उपमेयरको कोसेली दिइने गरेको छ’, उनले भने ।


नगरभित्रका २३ वटा सुरक्षित प्रसूति सेवा केन्द्रबाट कोसेली वितरण भइरहेको छ । नगरका १० वटै वडाका सुरक्षित प्रसूति सेवा केन्द्रमा कोसेली पुगिसकेको नगरपालिकाले जनाएको छ । 

 

संस्थागत सुत्केरी बढाउने, मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउने उद्देश्यसहित कार्यक्रम सञ्चालनमा ल्याइएको बताइएको छ ।


नगरपालिकामा जनप्रतिनिधि आएको पहिलो वर्षदेखि नै 'उपमेयरको कोसेली' वितरण कार्यक्रम ल्याएको पुर्चौडीको सिको जिल्लाका अन्य तहले पनि गरेका छन् ।