close

पुसको कठ्याङ्ग्रिँदो चिसोमा ज्येष्ठ नागरिकलाई फुङ्लिङकाे उपहार (भिडियाे खबर)

पुसको कठ्याङ्ग्रिँदो चिसोमा ज्येष्ठ नागरिकलाई फुङ्लिङकाे उपहार (भिडियाे खबर)

ADVERTISEMENT

ताप्लेजुङ- देशभर ७५३ स्थानीय तह छन् । गाउँगाउँमा नागरिकप्रति उत्तरदायी बन्ने जिम्मा पाएका स्थानीय सरकारले अहिले योजना बनाएरै काम गरिरहेका छन् । अझ अधिकांश स्थानीय तहको त गाउँका ज्येष्ठ नागरिक प्रमुख प्राथमिकतामा पर्दै आएका छन् । 


अभिभावकप्रति दायित्वबोध गराउन पनि स्थानीय सरकारले सम्मानदेखि आर्थिक सहयोग गर्दै आएका छन् । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले पनि ज्येष्ठ नागरिकलाई चिसो याममा सिरक वितरण गरेको छ भने निःशुल्क आँखाको परीक्षणसमेत गराएको छ ।


पुसको कठ्याङ्ग्रिँदो चिसो । शरीर बुढ्यौलीपनमा जान थालेपछि जीउ तात्न पनि मुस्किल पर्छ । यसै पनि हिमाली जिल्ला भएकाले प्रायः गर्मीभन्दा चिसो नै बढी हुने ठाउँ हो, ताप्लेजुङ । यही चिसो मौसममा वृद्धवृद्धालाई बिछ्यौना न्यानो बनाउन ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं.- ७ ले फाइबर सिरक प्रदान गरेको छ । 


नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत वार्षिक १ लाख ५० हजार रुपैयाँ बजेटबाट ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिलाई एक÷एक थान फाइबर सिरक प्रदान गरेको हो । सानै सहयोग भए पनि चिसो मौसममा वृद्धवृद्धा र फरक क्षमता भएका नागरिकले सरकारको यो सहयोगप्रति दिल खोलेर प्रशंसा गरेका छन् ।

 

फुङ्लिङ वडा नं.- ७ काहुलेका लेखनाथ गौतम वृद्धवृद्धाका लागि सरकारको सहयोगले आशावादी बनाएको र भरोसा पुगेको बताउँछन् । सरकारबाट प्राप्त भएको वृद्धभत्तादेखि स्थानीय सरकारले दिएका अन्य सहयोगले वृद्धवृद्धाको जीवनमा ठूलो सहयोग पुगेको उनको भनाइ छ । 


नेपालको संविधान, २०७२ ले हरेक नागरिकलाई राज्यबाट प्राप्त हुने अनैकौँ सुविधा र अधिकारको सुनिश्चितता गरेको छ । यता, फुङ्लिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपालकुमार सेन्दाङ भने स्थानीय सरकारका तर्फबाट नगरपालिकाले ज्येष्ठ तथा फरक क्षमता भएका नागरिकका लागि भिन्न र रचनात्मक प्रकृतिमा कार्यक्रम राखेको बताउँछन् ।


फुङ्लिङ नगरपालिका वडा नं.- ७ का वडाध्यक्ष राजनकुमार गुरुङ अनुभवका खानी र ज्युँदो इतिहास बनेका जेष्ठ र फरक क्षमतासहित जीवन ज्युँदै गरेका नागरिकको सम्मानका लागि वडापालिकाले फरक किसिमको भए पनि ज्येष्ठ नागरिकको सम्मान गरिएको बताएका छन् ।

 
ज्येष्ठ र फरक क्षमता भएका नागरिकले सिरक त पाए नै, नेपाल नेत्र ज्योति संघ ताप्लेजुङमार्फत डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रबाट आँखाको परीक्षणसमेत निःशुल्क रूपमा गर्न पाउँदा उनीहरू खुसी हुँदै घर फर्किएका थिए ।