close

नानीबाबुलाई कक्षाकोठाबाटै सिंगो भक्तपुरको परिचय

नानीबाबुलाई कक्षाकोठाबाटै सिंगो भक्तपुरको परिचय

Trulli
ADVERTISEMENT

भक्तपुर- तपाईं भक्तपुर नगरभित्रको जानकारी लिन इच्छुक हुनुहुन्छ ? यहाँका मन्दिर, ऐतिहासिक क्षेत्र या अन्य कुनै जानकारी लिने इच्छा छ ? यसबारे जानकारी पाउन तपाईंले अब कुनै विज्ञ वा विशिष्ट व्यक्तिसँग हारगुहार गर्नुपर्ने छैन ।

 

यदि तपाईंको घरमै भक्तपुर नगरपालिकाभित्र अध्ययन गर्ने स्कुले बाबुनानी छन् भने उनैसित यहाँका सबै जानकारी लिन सकिनेछ ।  बाबुनानीहरूले कक्षाकोठाभित्रै सिंगो भक्तपुर नगरपालिबारे जानकारी लिइसकेका छन् । 


भक्तपुर नगरले स्थानीय पाठ्यक्रम मात्रै होइन, ख्वपको पहिचान नामक स्थानीय पाठ्यक्रम सन्दर्भ-सामग्री भाग १ समेत लागू गरिसकेको छ ।  उक्त पुस्तक नगरभित्रका अधिकांश विद्यालयमा अध्यापनसमेत भइरहेको छ । 

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लागू भएसँगै कक्षा १२ सम्मको विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय सरकारमा आयो । यससँगै अरू स्थानीय तहझैँ यो नगरले पनि आफ्नो पहिचानसहितको पाठ्यपुस्तक निर्माण मात्रै होइन, लागूसमेत गर्न आदेश दियो । 

 

पाठ्यक्रमको आधारमा मात्रै पढाउँदा शिक्षक तथा विद्यार्थीलाई अन्योल हुन नदिन सन्दर्भ-सामग्रीसमेत निर्माण भयो । यसले भक्तपुर नगरको परिचय दिन सहज हुने विश्वास नगर शिक्षा शाखाको छ । 

 

नगर शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौलाका अनुसार नगरपालिकाले स्थानीय ज्ञान, कला, संस्कृति, सम्पदाको संरक्षण र संवद्र्धनका लागि कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम विकास गरी लागू गरिएको हो । 


पाठ्यक्रममा नेवार समुदायको जातदेखि इतिहास, जन्म संस्कारदेखि मृत्यु संस्कार, स्थानीय चाडपर्व, बाजा, पोसाकलगायत ऐतिहासिकदेखि साँस्कृतिक परिचय समेटिएको छ ।

 

साथै, यहाँको स्थानीय खेलकुद तथा विशिष्ट व्यक्तिको परिचयसमेत पाठ्यक्रममा समावेश गरिएको नगरपालिकाले जनाएको छ । स्थानीय पाठ्यक्रमलाई शिक्षकले मात्रै होइन, विद्यार्थीले समेत उत्सुक भएर अध्ययन गर्दै आएको एक शिक्षक बताउँछन् ।

 

नगरपालिकाको स्थानीय पाठ्यक्रमलाई शिक्षकले मात्रै नभई विद्यार्थीले समेत उपयुक्त रहेको भन्दै पालिकालाई धन्यवाद दिएका छन् । बागिश्वरी माध्यमिक विद्यालयको कक्षा ८ की छात्रा विनिता वनमालाले भनिन्, ‘पहिले हामी मन्दिर जाँदा त्यसको जानकारी थिएन । तर, अहिले हामीलाई यहाँका अधिकांश मन्दिरसँगै त्यसको उत्पत्ति, परिचयसमेत थाहा छ ।’ 

 

पाठ्यपुस्तकबाट यहाँको स्थानीय पेसा, धर्म संस्कृतिसहित ऐतिहासिक तथा सांस्कृतिक पक्षको परिचय कक्षाकोठाबाट लिन सकेकामा विद्यार्थीहरू खुसी छन् ।