close

जुम्लामा ओली पक्ष कमजोर बन्दै

जुम्लामा ओली पक्ष कमजोर बन्दै

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाका विघटित प्रतिनिधिसभाका १ सांसद र कर्णाली प्रदेशसभाका २ सांसद पुष्पकमल दाहाल-माधव नेपाल समूहको नेकपामा लागेका छन् । गजेन्द्रबहादुर महत संघीय सांसद हुन् । उनी तत्कालीन माओवादी केन्द्रको कोटाबाट चुनाव लडेका थिए ।  

 

जुम्लाकै प्रदेश क्षेत्र (क) का सांसद नरेश भण्डारी कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हुन् । उनले तत्कालीन नेकपा माओवादी केन्द्रको कोटाबाट चुनाव जितेका थिए । 

 

भण्डारीलाई तत्कालीन माओवादी केन्द्रको हालका गृहमन्त्री रामबहादुर थापा नजिकका मानिन्थ्यो । तर, पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै उनले बादललाई छाडेर माधव-प्रचण्ड समूहको नेकपामा आएका छन् । 


व्यक्तिगतभन्दा पनि सामूहिक स्वार्थका हिसाबले यो समूहमा लागेको उनले प्रतिक्रिया दिए । विचारगत हिसाबले पनि प्रतिगामी कदमको पक्षमा उभिन नसकिने अवस्था रह्यो’, मन्त्री भण्डारीले भने, ‘प्रचण्ड-माधव समूह नै नेपालको भविष्य हो ।’

 

ओली समूहबाट मन्त्री भण्डारीलाई प्रदेशको मुख्यमन्त्री बनाउनेदेखि प्रदेश सांसदबाट राजीनामा गराएर केन्द्रको मन्त्री बनाउनेसम्मको आश्वास आएको थियो । योसँगै स्थायी समितिमा पनि लैजाने अफर आएको थियो । तर, भण्डारी जति आश्वासन आए पनि आफू ओली समूहमा नगएको दाबी गर्छन् । 


जुम्ला प्रदेश क्षेत्र (ख) का सांसद पदम रोकायाले १ महिनाअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अविश्वासको प्रस्ताव पेस गर्दा प्रधानमन्त्री ओली प्यानलबाट अघि बढेका थिए । तर, उनी अहिले माधव–प्रचण्ड समूहमा छन् ।

 

उनले आफू माधव-प्रचण्ड समूहमा रहेको जानकारी गराइसकेका छन् । जुम्लामा प्रदेशसभाका लागि २ क्षेत्र निर्धारण गरिएकामा प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र छ ।

 

३ वटै सांसद एउटै समूहमा लागेपछि जुम्लामा माधव-प्रचण्ड समूह बलियो देखिएको छ । यहाँ नेकपाका जिल्ला अध्यक्ष र सचिव पनि माधव-प्रचण्ड समूहकै हुन् । 


ओली पक्षमा योगी मात्रै


जुम्लामा १ नगरपालिका र ७ गाउँपालिका गरी ८ वटा स्थानीय तह छन् । ८ स्थानीय तहमध्ये २ गाउँपालिकाको प्रमुख/उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने ४ गाउँपालिकामा नेकपाका प्रमुख/उपप्रमुखले चुनाव जितेका थिए ।

 

चन्दननाथ नगरपालिकामा भने प्रमुख कांग्रेस र उपप्रमुख नेकपा जनप्रतिनिधि छन् । त्यस्तै, सिंजा गाउँपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख नेकपा जनप्रतिनिधि छन् । 


सत्तारुढ नेकपाका नेताहरू दुई खेमामा विभाजित भएपछि तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी मात्र प्रधानमन्त्री ओली समूहमा उभिएका छन् । उनी तत्कालीन नेकपा एमालेमा हुँदा पनि ओली धारमै थिए । अध्यक्ष योगी प्रतिनिधिसभा विघटनपछि भएको केन्द्रीय समिति विस्तारमा सदस्यमा पनि परेका छन् ।


नेकपाको तर्फबाट गुठीचौर गाउँपालिकाको प्रमुखमा हरिबहादुर भण्डारी, उपप्रमुखमा जानदेवी ऐडी, हिमाको प्रमुखमा रजबहादुर शाही, उपप्रमुखमा हिमाली रोकाया, तातोपानीको प्रमुखमा नवराज न्यौपाने, उपप्रमुखमा गंगादेवी उपाध्याय र तिला गाउँपालिकाको प्रमुखमा रतननाथ योगी उपप्रमुखमा विष्णु बुढा निर्वाचित जनप्रतिनिधि हुन् ।


यस्तै, चन्दननाथको उपप्रमुखमा पनि नेकपाकै अप्सरादेवी महत निर्वाचित छन् । चन्दननाथको प्रमुखमा कान्तिका सेजुवाल र कनकासुन्दरी गाउँपालिकाको प्रमुखमा नरवीर रावत, उप्रमुखमा उर्मिला भण्डारी, सिंजा गाउँपालिकाको प्रमुखमा देवलसिंह रावल, पातारासी गाउँपालिकाको प्रमुखमा लछिमन बोहरा, उप्रमुखमा पुन्नकली महतारा दुवै पदमा नेपालीसबाट निर्वाचित भएका थिए ।


सिंजाकी उपाध्यक्ष निर्णय कुर्दै


सिंजा गाउँपालिका उपाध्यक्षमा जन्मकन्या खत्री तत्कालीन नेकपा एमाले पार्टीबाट निर्वाचित भएकी हुन् । उनले अहिले आफू निर्वाचन आयोगको फैसला कुर्दै दुवै धारमा नरहेको बताइन् ।

 

निर्वाचन आयोगको निर्णयपछि पार्टीको सूर्यचिह्न जुन पक्षसँग हुन्छ, आफू त्यतै लाग्ने उनले जानकारी दिइन् ।