close

पप्पु कन्स्ट्रक्सनका कारण यसरी रोकियो पूर्वी पहाडको विकास 

खोटाङ र भोजपुरलाई तराइसँग जोड्ने योजना अलपत्र 

पप्पु कन्स्ट्रक्सनका कारण यसरी रोकियो पूर्वी पहाडको विकास 

खोटाङ र भोजपुरलाई तराइसँग जोड्ने योजना अलपत्र 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट पुल निर्माणमा निर्माण व्यवसायीको लापर्बाहीका कारण ढिलासुस्ती भएको छ । २९ असार २०७६ भित्र सम्पन्न गर्ने गरी ३० असार २०७३ मा सम्झौता गरिएको खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर २ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने जोड्ने सुनकोसी पुल निर्माणमा ठेकेदार कम्पनी रसुवा एसएनएस पप्पु जेभीले ढिलाइ गरेको हो ।

 

पप्पु कन्स्ट्रक्सन सरकारले कालोसूचीमा राखेको निर्माण कम्पनी हो । सम्झौता म्याद नाघेको १८ महिना बित्दासम्म पनि पुलको करिब १५ प्रतिशत काम पूरा भएको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का साइड इन्जिनियर रवि शाहले बताए ।

 

‘अहिलेसम्म धाप्लाङघाट पुलको काम १५ प्रतिशत मात्र सकिएको छ,’ इन्जिनियर शाहले भने, ‘हाल पुलको राइटब्यांक (उदयपुरतर्फ) को वेल फाउन्डेसनको सिंकिङ अपरेसनको काम भइरहेको छ ।’

 

३१ भदौ २०७४ मा तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शिलान्यास गरेका थिए । २ सय मिटर लम्बाइको धाप्लाङघाट पुलको उदयपुरतर्फको पिलर ठडिएको छ भने खोटाङतर्फको पिलर ठड्याउने काम पनि भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

 

उदयपुरतर्फ नदीबीचमा गोलो पिलर उठाउने काम भइरहेको हो ।  धाप्लाङघाटमा खोटाङ र उदयपुरतर्फ वर्षौंअघि कच्ची सडक बने पनि हालसम्म पक्की पुल अभावमा झोलुंगे प्रयोग हुँदै आएको छ ।

 

बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिकाका तथा भोजपुरका केही स्थानीयलाई तराईसँग जोड्ने छोटो र सीधा बाटोमा पर्ने पुल निर्माणको काम ठप्प हुँदा स्थानीय निराश छन् ।

 

म्याद गुज्रिँदासम्म पनि पुलको पिलर ठड्याउने कामसमेत पूरा नहुँदा सर्वसाधारण मारमा परेको बराहपोखरी वडा नम्बर ४ फाक्टाङ स्थानीय गणेश कोइरालाले बताए । 


भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने पुल र धाप्लाङघाटको पुल ५० करोड १४ लाख ६० हजार रुपैयाँको लागतमा पुरा गर्ने गरी ठेकेदार कम्पनी रसुवा एसएनएस पप्पु जेभीले एउटै ठेक्कामार्फत जिम्मा लिएको हो ।


एकै दिन शिलान्यास गरिएको रानीटार र धाप्लाङघाट पुलको प्रगति भने उस्तै निराशाजनक देखिएको छ । पुलको अलपत्र कामलाई गति दिन निर्माण कम्पनीलाई पटक-पटक ताकेता गर्दा पनि सुनुवाइ नभएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए । 


पुल शिलान्यासका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधि जयराम लामिछानेले पुल निर्माणको काम दुई वर्षभन्दा एक दिन पनि कटाउँदिनँ भनेर भाषण गर्दा स्थानीयले ताली पिटेका थिए ।