close

यसरी पुरा हुँदै छ व्यापारिक केन्द्रलाई पानी पानी बनाउने पालिकाको संकल्प 

यसरी पुरा हुँदै छ व्यापारिक केन्द्रलाई पानी पानी बनाउने पालिकाको संकल्प 

Trulli
ADVERTISEMENT

रूपन्देही- बुटवलमा खानेपानी समस्या नौलो होइन । यद्यपि, हालसम्म भएका प्रयासले यहाँको तीव्र जनघनत्व रहेको सहरलाई खानेपानी पुर्‍याउन सकिएको छैन । सुख्खायाममा त मागभन्दा झण्डै आधा कम मात्र खानेपानी आपूर्ति गर्नुपर्ने अवस्था छ ।


पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हो बुटवल । बुटवल साविक लुम्बिनी अंचल सदरमुकाम हुँदै मुलुक संघीयतामा गएपछि लुम्बिनी प्रदेशको अस्थायी राजधानी पनि भयो । विकास र केन्द्रीय राजधानीमा महत्त्वपूर्ण हिस्सा राख्ने बुटवलले झेलिरहेको खानेपानी अभावको समस्यालाई भने अब दीर्घकालीन रूपमा समाधान गर्ने प्रयास सुरु गरेको छ ।


बुटवल उपमहानगरपालिकाले यहाँको खानेपानी संस्थानसँगको सहकार्यमा खानेपानीको गुरुयोजना बनाइरहेको छ । पूर्वाधार विकास र अन्तबाट बसाइँसराइँ गरे आउने प्रमुख थलोका रूपमा रहेको बुटवललाई अबको ५ दशकसम्मको जनशंख्यालाई सोचेर खानेपानीको गुरुयोजना बनाएर काम सुरु गर्ने तयारी गरेको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । 


गुरुयोजनालाई बुटवल खानेपानी आयोजनामार्फत कार्यान्वयन गर्ने गरी तीनै तहका सरकारको बीचमा सहकार्यअनुसार कार्यान्वयन गर्ने गरी तयारी छ । उनले संघीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संकल्पअनुरूप नै तीनै तहले बुटवलको खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको बताए । 


बुटवलको हरियाली प्रतिशत मुलुकका कुनै पनि नगरपालिकाको भन्दा धेरै छ । तर, विडम्बना, यहाँ पानीको प्राकृतिक स्रोत भने एकदमै न्यून छ । हरियालीमा झण्डै ५५ प्रतिशत रहेको बुटवलमा पानीको स्रोत भने लगभग शून्यको अवस्थामा छ ।


यसलाई सुधार गर्न बुटवल उपमहानगरले मुलुकमै पहिलो पटक ‘एक वन, बहुपोखरी’ कार्यक्रम ल्यायो । चुरेमा रहेका वनहरूमा बुटवलले पोखरी निर्माण गर्‍यो, जसलाई पछि लुम्बिनी प्रदेश सरकारले पनि कार्यक्रममा समावेश गरेर प्रदेशभर विस्तार गरेको छ । वनमा पोखरी निर्माण भएपछि त्यसले पानीको रिचार्ज गर्ने र प्राकृतिक मूललाई सुक्न नदिने हुँदा यो वातावरणीय हिसाबले ज्यादै नै उपयोगी हुने विज्ञहरूको भनाइ छ । 


बुटवललगायतका क्षेत्रको वातावरण, पानीका प्राकृतिक स्रोतको गहिरो अध्ययन गर्दै आएका इन्जिनियर डा. खेटराज दाहालले बुटवलबाट सुरु भएको ‘एक वन, बहुपोखरी’ कार्यक्रम वातावरणीय हिसाबले मुलुककै नमुना रहेको बताए । बुटवलमा रहेका झण्डै २१ वटा सामुदायिक वनमा पोखरी निर्माण गरिनेछ ।


बुटवलसहित तराईका अधिकांश क्षेत्रको जमिनमुनिको पानी भासिने, मासिने, नासिने क्रम पहिलेदेखि नै चल्दै आयो । त्यसैले पहिलो प्राथमिकता भनेकै पानीका प्राकृतिक स्रोतको संरक्षण गर्नुलाई लिएर सोहीअनुरूपका काम अगाडि बढाइएको उपमहानगरको भनाइ छ । अहिले बुटवलका लागि पानीका स्रोत भनेका पाल्पाका सिस्नेखोला र झुम्साखोला हुन् । 


प्राकृतिक हिसाबले माथिल्लो तटको प्राकृतिक सम्पदामा तल्लो तटसम्मैका उपभोक्ताको हक हुन्छ । त्यहीँको खानेपानीलाई व्यवस्थित पाइपलाइनमार्फत बुटवलमा ल्याउने र बुटवलमा ट्रिटमेन्ट (शुद्धीकरण) गरेर वितरण गरिनेछ । 


बुटवलका १९ वटै वडालाई एउटै संजालमा जोड्ने र समुदायस्तरबाट संचालित आयोजनालाई अझ संरक्षण गर्दै व्यवस्थित बनाउने बुटवल उपमहानगरको योजना छ । तयार भइरहेको गुरुयोजनामा १९ वडाका सबै वस्ती र आउँदो ५० वर्षपछिको जनसंख्याको चापको अनुमान गर्दै विज्ञहरूले काम गरिरहेको उपमहानगरका प्रमुख सुवेदीले बताए । 


वर्षाैंदेखिको अधुरो सपना साकार पार्ने संकल्प


२०५२ सालमा बुटवलमा खानेपानी ल्याउने झुम्सा खोलाको मुहाननिरै ‘इन्टेक’ निर्माणदेखि पाइप बिच्छाउने काम सुरु भएको थियो । तर, सरकार परिवर्तन र विभिन्न उतारचढावसँगै प्रभावकारी रूपमा काम हुन सकेको थिएन । त्यसैबेला सोही पानीको उपयोग गर्ने गरी गौतमबुद्ध लघु ‘हाइड्रो प्रोजेक्ट’ योजना आएपछि खानेपानी योजना छायामा पर्‍यो । 


हाइड्रो प्रोजेक्टले पानी उपयोग गर्ने भएपछि उक्त खोलाको पानी बुटवल ल्याउने योजना सेलाउँदै गयो । न त पानी आयो, न उक्त प्रोजेक्ट नै बन्यो । यही घटनाबाट पाठ सिकेरै बुटवलका लागि खानेपानीको गुरुयोजना नै बनाउन जुटेको प्रमुख सुवेदीले बताए । बुटवलमा ल्याउने खानेपानीका लागि हालै संघीय सरकारका अर्थमन्त्री पौडेलले महत्त्वपूर्ण आयोजनाको शिलान्याससमेत गरिसकेका छन् । 


झुम्सा खोलामा व्यवस्थित ड्याम-इन्टेक 


झुम्सा खोलामा यसअघि निर्माण भएको बाँध भत्किएपछि अहिले अर्को व्यवस्थित ड्याम र इन्ट्याक्ट निर्माण सुरु भएको छ । यो बुटवलको खानेपानी गुरुयोजनाकै एउटा नयाँ कामको सुरुवाती हो । नेपाल खानेपानी संस्था बुटवलका प्रमुख मोहनदत्त भट्टका अनुसार बुटवलको खानेपानीको अभावलाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी योजना बनिरहेको छ । 


उनले झुम्सा खोलाबाट २ वर्षभित्र मेनलाइनको पाइप बिछ्याउने र मुहान ड्याम निर्माण सम्पन्न गरेर ट्याङ्की निर्माण गरिने बताए । त्यसपछि सर्भिस लाइनका पाइप बिछ्याउने र विस्तारै बुटवलका सबै वडामा पुर्‍याइनेछ । त्यहाँदेखि झुम्सा हुँदै बुटवलको रामफेदीसम्म यसअघि बिछ्याइएका पाइपलाई पनि मर्मत गरिने भएको छ ।


यसअघि बिछ्याइएका १० इन्च पाइपसँगै अब २० इन्चका पाइप थपिनेछ भने झुम्सादेखि बाँध स्थलसम्म यसअघिका २० इन्चका पाइपसँगै अब थप २० इन्चका पाइप बिछ्याइनेछ । बाँधसँगै मुख्य ‘ट्रान्समिसन पाइप’ लाइनको पनि निर्माण सम्झौता भएर काम गरिने खानेपानी संस्थानका प्रमुख भट्ट बताउँछन् । यो कामलाई पनि २०७९ वैशाखभित्रै सक्ने लक्ष्य लिइएको छ ।


खानेपानीको माग दिनहुँ बढ्दै


अहिले बुटवलमा ३ करोड ४० लाख लिटर खानेपानीको माग रहेको छ । तर, आपूर्ति भने दुईदेखि अढाइ करोड लिटरसम्म हुने गरेको छ । बुटवलमा अहिले तिनाउ सम्पेवलबाट दैनिक १ करोड लिटर चिडियाखोला डिप ट्युबवेलबाट १ करोड ८० लाख लिटर, २० ठाउँबाट भूमिगत १ करोड ८० लाख लिटर गरी दैनिक २ करोड ८० लाख लिटर पानी वितरण हुँदै आएको छ । 


हाल पनि बुटवलका लागि दैनिक करिब ६० लाख लिटर पानी अपुग छ । तिनाउबाट दैनिक ७० लाख लिटर र ११ वटा ट्युब वेल (बोरिङ)बाट ८० लाख लिटर गरी खानेपानी आपूर्ति गरिएको संस्थानले जनाएको छ । 


बुटवलको जनसंख्या २ लाखभन्दा बढी छ । बसाइँसराइ र आर्थिक केन्द्र बुटवलमा दिन प्रतिदिन मानिसहरू थपिने क्रम जारी छ ।


बुटवलमा जनसंख्या वृद्धिसँगै बर्सेनि ६०० देखि ७०० सम्म नयाँ धारा वितरण हुने गरेका छन् । बुटवलमा अहिले खानेपानी २० वटा ट्युब वेलहरू संचालनमा ल्याइएका छन् । ट्युब वेलबाट करिब १ करोड ८० लाख लिटर पानी उत्पादन हुँदै आएको छ । 


हाल बुटवलमा नगरमा दैनिक पानीको माग ३ करोड ४० लाख लिटर छ । झुम्साखोलाको पानी आएपछि बुटवलमा आगामी २० वर्षसम्म पानीको माग पूरा गर्नेछ ।


यसका साथै अरू स्रोतको खोजी र संरक्षण गरेर आगामी ५० वर्षपछिसम्मको जनसंख्यालाई मध्यनजर गर्दै खानेपानीको गुरुयोजना बनाउने काम भइरहेको बुटवलका शहरी विकास महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठको भनाइ छ ।


७ र ८ नम्बर वडामा नयाँ आयोजना  


बुटवलको सबैभन्दा बढी खानेपानीको समस्या वडा नम्बर- ७ र ८ मा छ । यी २ वटा वडाको समस्यालाई पहिले समाधान गर्ने लक्ष्यअनुरूप अहिले नयाँ काम सुरु भएको छ । धागो कारखाना अगाडिको धर्मकाँटा नजिकै गाडिएको बोरिङदेखि दीपनगरसम्म डीआई पाइपलाइनमार्फत खानेपानी ल्याइनेछ । 


नेपाल खानेपानी संस्थान र बुटवल उपमहानगरको सहकार्यमा २ करोड २१ लाख ५२ हजार ३७ रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाको हालै एक समारोहका बीच बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले शिलान्यास गरेका छन् ।

 

२ वडालाई लक्षित गरी संचालन हुन लागेको यो आयोजना आगामी वैशाख दोस्रो सातासम्मका सक्ने लक्ष्य रहेको खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्टले बताए । श्रीजीएमआरएम कन्स्ट्रक्सन बुटवल-७ रूपन्देहीले उक्त आयोजनाको काम गर्ने जिम्मेवारी पाएको छ ।