close

ललितपुरका १७ विद्यालयमा पुगे नर्स

ललितपुरका १७ विद्यालयमा पुगे नर्स

Trulli
ADVERTISEMENT

ललितपुर- शिक्षण संस्थाबाट स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सुरु गरेको एक विद्यालय एक नर्स अभियान ललितपुरमा पनि प्रभावकारी बन्दै गएको छ ।

 

गत वर्ष जिल्लाका विभिन्न ५ विद्यालयमा परेको उक्त कार्यक्रमा यस वर्ष थप १२ विद्यालयले पाउने भएका छन् । 


मन्त्रालयका अनुसार यस वर्ष ललितपुर महानगरको प्रगति शिक्षासदन माध्यमिक विद्यालय कुपन्डोल, श्रमिक शान्ति माध्यमिक विद्यालय च्यासल, गोदावरी नगरपालिकाको किटनी नमुना माध्यमिक विद्यालय गोदावरी, फुलचोकी नमुना माध्यमिक विद्यालय ठैब, महाँकाल गाउँपालिकाका महाँकाल माध्यमिक विद्यालय गोटीखेलमा नर्स व्यवस्थापन गरिनेछ ।

 

यस्तै, महेन्द्र माध्यमिक विद्यालय ठूलादुर्लुङ, महालक्ष्मी नगरपालिकाका विश्वमित्र गणेश माध्यमिक विद्यालय, महेन्द्र आदर्श माध्यमिक विद्यालय, बागमती गाउँपालिकाका विद्याधिश्वरी माध्यमिक विद्यालय आश्राङ, कालीदेवी माध्यमिक विद्यालय माल्टाले नर्सको सुविधा उपलब्ध गराउछन् ।

 

यसैगरी कोञ्ज्योसोम गाउँपालिकाका गोठभन्ज्याङ माध्यमिक विद्यालय दलाचोकी र मगरगाउँ माध्यमिक विद्यालय शंखुले यो सेवा प्राप्त गर्नेछन् । 

 

गत वर्ष ललितपुरका वज्रबाराही माध्यमिक विद्यालय, कालीदेवी माध्यमिक विद्यालय (प्युटार), बालेश्वरी माध्यमिक विद्यालय भारदेउ, आदर्श शौल माध्यमिक विद्यालय र त्रिपद्म माध्यमिक विद्यालयले नर्स सेवा प्राप्त गरेका थिए ।

 

यो कार्यक्रममा छनोट हुनका लागि विद्यालयमा ३ सयभन्दा बढी विद्यार्थी रहेको, दलित जनजाति उच्च रहेको, छात्राको संख्या बढी भएको तथा एसईई नतिजा राम्रो हुनुपर्नेलगायत मापदण्ड पूरा गरेको हुनुपर्नेछ । 

 

बागमती प्रदेशका प्रत्येक सामुदायिक विद्यालयमा यो कार्यक्रम पुर्‍याउने लक्ष्यअनुरूप आर्थिक वर्ष २०७५/७६ मा मन्त्रालयले पहिलो चरणमा पाइलट प्रोजेक्टको रूपमा १३ जिल्लाका १८ स्थानीय तहबाट २० विद्यालयमा नर्स छनोटका लागि प्रक्रिया अघि बढाएको थियो ।

 

यसैगरी २०७६/७७ मा यो कार्यक्रमलाई १ सय २१ विद्यालयमा लागू गरिएकामा र यो आर्थिक वर्षसम्म प्रदेशभरका ३ सय २५ विद्यालयमा नर्स कार्यक्रम सञ्चालन भएको विद्यालय नर्स कार्यक्रमका फोकल पर्सन सतिश विष्टले जानकारी दिए ।

 

उनका अनुसार यस आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि १९ करोड रुपैयाँको बजेट मन्त्रालयले छुट्याएको छ । 

 

विद्यालयमा खटाइएका नर्सले प्रत्येक विद्यार्थीको स्वास्थ्यबारे दैनिक जानकारी लिन्छन् । उनीहरूलाई आफूसँगै घरपरिवारलाई स्वस्थ रहने तरिकाबारे सिकाउँछन् । प्राथमिक उपचारले ठीक नभएपछि नर्सले बिरामी विद्यार्थी अस्पताल पठाउँछन् ।

 

प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रमको सम्पूर्ण व्यवस्थापन स्थानीय सरकारले गर्ने गरी जिम्मा दिएको छ । ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका प्रमुख गोपीलाल सिंतान सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम प्रभावकारी र हुँदै गएको बताउँछन् । 

 

‘विशेषगरी किशोर–किशोरीलाई शारीरिक रूपमा आउने समस्या, महिनावारीको बेला देखापर्ने समस्या समाधानका लागि नर्स आएपछि सहज भएको छ । प्रजनन तथा यौन स्वास्थ्यको मामलामा पनि उक्त कार्यक्रमले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा चेतना बाँड्ने काम गरेको छ’, उनले भने ।

 

ललितपुर पुल्चोकको त्रिपद्म माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद घिमिरे २०७५ देखि नै आफ्नो विद्यालयमा नर्स कार्यक्रम लागू भएको र उक्त कार्यक्रमले सकारात्मक प्रभाव पारेको बताउँछन् ।

 

१ हजार ६ सय विद्यार्थी रहेको यो विद्यालयमा कार्यरत नर्स लीला महर्जनले विद्यार्थीको पूर्ण स्वास्थ्य परीक्षण गर्नुका साथै अन्य आवश्यक परामर्श पनि दिइने गरिएको बताइन् ।