close

हिउँदे गाउँसभामा जुटे पाल्पाका स्थानीय तह

हिउँदे गाउँसभामा जुटे पाल्पाका स्थानीय तह

Trulli
ADVERTISEMENT

पाल्पा- पाल्पाका स्थानीय सरकारहरू हिउँदे गाउँसभामा जुटेका छन् । स्थानीय सरकारहरूले गाउँसभामा आफ्ना नीति तथा कार्यक्रम संशोधन र प्रगति समीक्षा गर्न थालेका हुन् ।

 

पूर्वखोला गाउँपालिकाले हिउँदे सभाबाट ११ वटा योजना नाम संशोधन, वडास्तरीय १७ वटा योजनाको रकमान्तर, पालिकास्तरीय ९ वटा योजनामा बजेटको व्यवस्थापन र १४ वटा योजनाको बजेट संशोधन गरेको छ ।

 

विनियोजित बजेटमा छुट भएको तर पालिकाले सञ्चालन नगरी नहुने १४ वटा योजना भएकाले त्यसमा गाउँसभाबाट बजेटको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए ।

 

पोखन्दी खानेपानी योजना पहुँच मार्गलाई १० लाख, सिलुवा स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) ५ लाख, स्मार्ट कृषि कार्यक्रम १० लाख, कृषि वस्तु निर्यातका लागि गाडी खरिदमा १२ लाख ५० हजार, अर्खलडाँडा खानेपानी योजना १२ लाख र १५ शय्याको अस्पताल निर्माणलाई १ करोड रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ ।

 

पालिकाले भौतिक पूर्वाधारका अतिरिक्त लक्षित वर्ग कार्यक्रम, स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड स्थापना, विज्ञान प्रयोगशाला निर्माण, पिँडालु खरिद, दुग्ध उत्पादनमा आधारित अनुदान, युवा रोजगार कार्यक्रम, बाँझो जग्गा अन्न खेती अनुदान र सीप तथा क्षमता विकास कार्यक्रममा बजेट व्यवस्था गरेको छ ।    

 

सातौँ गाउँसभाले प्रस्तुत ४८ करोड ९७ लाख ६५ हजार रुपैयाँ बजेटमध्ये हालसम्म २० प्रतिशत प्रगति हासिल गरेको छ ।

 

कोरोना कहरले पालिकाको सेवा बन्द गर्नु परेकाले प्रगति केही कम देखिएको तर वार्षिक कार्ययोजनाअनुसार काम भएको, योजना सम्झौता र ठेक्का बन्दोबस्ती भएकाले बाँकी अवधिमा पालिकाको प्रगति राम्रो हुने प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए ।

 

पालिकाले आर्थिक वर्ष २०७७/०७८ को मंसिर मसान्तसम्म १४ वटा ऐन, कार्यविधि र निर्देशिका निर्माण गरेको छ । हिउँदेसभा तिनाउ र बगनासकाली गाउँपालिकाले पनि गरिसकेका छन् ।