close

कमल गाउँपालिकाका ज्येष्ठ नागरिकलाई फाइबरको सिरक

कमल गाउँपालिकाका ज्येष्ठ नागरिकलाई फाइबरको सिरक

Trulli
ADVERTISEMENT

झापा– झापाको कमल गाउँपालिकाका जनप्रतिनिधिले पालिकाभित्रका ज्येष्ठ नागरिकलाई घरघरमै गएर भत्तासँगै न्यानो कपडा वितरण गर्न थालेका छन् ।

 

गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले ज्येष्ठ नागरिकलाई टोलदेखि घरसम्म पुगेरै सम्मान गर्दै आएको बताइन् । उनले भनिन्, ‘पालिकाका ८५ वर्षदेखि ९० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको अवस्था बुझ्न र जाडोमा फाइबरको सिरक, पौस्टिक तत्त्वयुक्त खानेकुरा लिएर जाने गरेका छौँ । घरघरमा पुग्दा कतिपय ज्येष्ठ नागरिकको अवस्था दयनीय पाइए पनि हामीले दिएको सम्मानपछि खुसी हुने गरेका छन् ।’

 

पालिकाले चालू आर्थिक वर्षको बजेटमा २ लाख रुपैयाँभन्दा बढी बजेट ज्येष्ठ नागरिकको सम्मानका लागि छुट्याएको छ । कार्यक्रमअन्तर्गत पालिकाभित्रका २ सय ७० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिनेछ ।

 

सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता विवरणको आधारमा ज्येष्ठ नागरिकको पहिचान गरिएको काफ्लेले जानकारी दिइन् । गत वर्ष ९० वर्षमाथिका १ सयभन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

 

प्रदेश १ सरकारले पठाएको ज्येष्ठ सम्मानबापतको नगद ५ हजार रुपैयाँमा पालिकाले न्यानो सिरक थपेर वितरण गरेको उनले बताइन् ।