close

ताप्लेजुङमा सुरु भयो निर्वाचनको चहलपहल

मतदान केन्द्र र स्थल थपघट गर्न दलहरूको प्रस्ताव

ताप्लेजुङमा सुरु भयो निर्वाचनको चहलपहल

मतदान केन्द्र र स्थल थपघट गर्न दलहरूको प्रस्ताव

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङका राजनीतिक दलहरूले साविक कायम रहेका फुङ्लिङ नगरपालिकासहित ९ मध्ये ८ पालिकामा मतदान स्थल र केन्द्र थप तथा परिवर्तन गरिदिन निर्वाचन आयोगलाई अनुरोध गरेका छन् ।


आउँदो १७ र २७ वैशाखमा सरकारले घोषणा गरेको प्रतिनिधिसभाको मध्यावधि निर्वाचन प्रयोजनमा लागि मतदान स्थलबारे जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले आयोजना गरेको सर्वपक्षीय छलफलमा दलहरूले मतदान स्थल÷केन्द्र थपको प्रस्ताव गरेका हुन् ।

 

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी विपिन दुलालका अनुसार मैवाखोला गाउँपालिकाबाहेक यहाँका अरू ८ वटै स्थानीय तहका विभिन्न स्थानमा मतदान स्थल÷केन्द्र थपका लागि दलहरूले प्रस्ताव गरेका छन् । उनका अनुसार फुङ्लिङ नगरपालिकामा ३ मतदान स्थल थपको प्रस्ताव गरिएको छ ।

 

वडा नम्बर ९ मा रहेको शिव निमावि भोटेगाउँ, वडा नम्बर १० मा महाकाली आधारभूत विद्यालय मयाम र शिवालय आधारभूत विद्यालय दोखु नाम्लेपाटीमा १–१ मतदान स्थल÷केन्द्र थप गर्न प्रस्ताव गरिएको छ ।

 

यस्तै, सिरिजंघा गाउँपालिकामा रहेको १ मतदान स्थल हटाई ३ मतदान स्थल÷केन्द्र थप गर्न प्रस्ताव गरिएको छ । प्रस्ताव गरिएकामा सिनाम बहुमुखी क्याम्पसको १ मतदान स्थल÷केन्द्र हटाई सिनामकै भगवती आधारभूत विद्यालय र डाँडागाउँ आधारभूत बिद्यालय गरी २ मतदान केन्द्र बनाउन भनिएको छ ।

 

यस्तै, आम्बेगुदिनस्थित बुङ्वा आधारभूत विद्यालयमा १ मतदान केन्द्र थपको माग गरिएको छ । आठराई त्रिवेणी गाउँपालिकाको सरस्वती मावि फूलबारी रमिते र जलकन्या आधारभूत विद्यालय हाङपाङमा गरी २ मतदान स्थल थप गर्न प्रस्ताव गरिएको छ ।

 

मेरिङ्देन गाउँपालिकामा कनका मावि थिङ्लाबु मतदान स्थल÷केन्द्र हटाई सिद्धकाली आधारभूत विद्यालय फुङथाप र सिंहकाली आधारभूत विद्यालय ओख्राबु कायम गर्न प्रस्ताव गरिएको छ । पाथीभरा याङ्बरक गाउँपालिकामा लक्ष्मी निमावि नाङ्खोल्याङ मेवाखामा १ मतदान स्थल केन्द्र थपको प्रस्ताव गरिएको छ ।

 

मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा भौगोलिक विकटतालाई आधार मानेर सिम्बुक आधारभूत विद्यालयमा १ तथा जनजाति आधारभूत विद्यालय साँवामा १ गरी २ मतदान स्थल थप गर्न सुझाइएको छ ।

 

सिदिङ्वा गाउँपालिका वडा नम्बर ३ मा रहेको सिंहेश्वरी मावि आङ्गेपा मतदान स्थल÷केन्द्र हटाई आङ्गेपा आधारभूत विद्यालय आङ्बुङ र जलेश्वरी आधारभूत विद्यालय गरी २ मतदान स्थल÷केन्द्रको प्रस्ताव गरिएको छ ।

 

फक्ताङ्लुङको वडा नम्बर ६ लेलेपस्थित सरस्वती माविको मतदान स्थल र केन्द्र हटाई लुङ्थुङ आधारभूत विद्यालय लुङ्थुङमा १ र सावित्री आधारभूत विद्यालय मादिबुङमा १ गरी २ नयाँ मतदान स्थल र केन्द्रको प्रस्ताव गरिएको छ ।

 

२०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङमा ७३ वटा मतदान स्थल र १ सय १४ वटा मतदान केन्द्र रहेका थिए । निर्वाचन आयोगले १० वटा बुँदामा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण प्रक्रिया उल्लेख गरेको छ ।

 

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन २०७४ का लागि कायम भएका मतदान स्थल तथा मतदान केन्द्र, मतदाताको सघनता, यातायातको सुविधा, वैकल्पिक मार्ग तथा पहुँचको सघनता, सुरक्षा प्रबन्ध, भौगोलिक अवस्थिति, पूर्वाधारलगायतलाई आधार मानेर मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गर्न सकिन्छ ।

 

प्रतिमतदान केन्द्र न्यूनतम १ हजारभन्दा बढी मतदाता संख्या भएको ठाउँमा मतदान स्थल थप गर्न सकिने व्यवस्था छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा यहाँ मतदाताको संख्या ७८ हजार ४ सय १७ रहेकामा हाल बढेर ८५ हजार ४ सय ६७ पुगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालले जानकारी दिए ।

 

मतदाता नामावली प्रकाशन गर्ने, नामावलीमा भएको त्रुटि सच्याउने, नामावलीबाट नाम हटाउनेलगायतका लागि १५ देखि २० माघसम्मको कार्यक्रम तालिका पनि निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ ।