close

उपभोक्ता समिति नै नबनाई वर्तमान र पूर्वजनप्रतिनिधि मिलेर ५० हजार झ्वाम !

उपभोक्ता समिति नै नबनाई वर्तमान र पूर्वजनप्रतिनिधि मिलेर ५० हजार झ्वाम !

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर- ४ फैतामा उपभोक्ता समिति गठन नगरी योजना निर्माणको काम संचालन भएको खुलासा भएको छ ।

 

वडा नम्बर- ४ फैतामा निर्माण हुन लागेको पन्जिउला सिँचाइ नहर र सिंहालगाउँ सिँचाइ ट्यांकीका लागि उपभोक्ता समिति गठन नगरी सिधै काम गरिएको स्थानीयले बताएका हुन् ।

 

४ नम्बर वडाका वडा सदस्य संग्राम कैला र भूतपूर्व वडा अध्यक्ष लोकजंग कैलाले दुवै योजना निमार्णका लागि उपभोक्ता समिति गठन नगरी काम गरेका हुन् ।


 
वडा सदस्य कैलाले पन्जिउला सिँचाइ नहर र भूतपूर्व वडा अध्यक्ष कैलाले सिंहालगाउँ सिँचाइ ट्यांकीका निर्माण गर्दा मिलेमतो भएको स्थानीय उपभोक्ता मंगल कैलाले दाबी गरे ।

 

संघीय सरकारको संसद् विकास कोषबाट विनियोजित ५ लाख र सुदूरपश्चिम प्रदेश सरकारको संसद् विकास कोषको ५ लाख गरी १० लाख रुपैयाँ बजेट दुवै जनाले स्थानीयलाई जानकारी नदिई दुवै योजनाको काम गरेको देखिएको हो ।


कैलाद्वयले उपभोक्ता समिति गठन नगरी आफू निकटका केही व्यक्तिबाटै काम संचालन गरेपछि स्थानीयले विरोध गरेका छन् । वर्तमान वडा सदस्य कैलाले योजना माग गरेबापत व्यक्तिगत ५० हजार रुपैयाँ खर्च भएको बिल पेस गरेका छन् ।

 

जनप्रतिनिधिले नै नागरिकको सल्लाहविनै काम गरेकाले ९५ घरधुरीको आँखामा छारो हाल्ने काम भएको वडावासीको आरोप छ । योजना निर्माणमा उपभोक्ता समिति गठन गर्नुपर्ने भए पनि फैतामा त्यसो नगरी आफू निकट र टोलका व्यक्तिको सल्लाहले काम भएको उनीहरूको भनाइ छ ।

 
गाउँमा गएका योजनाको उपभोक्ता समिति गठन प्रक्रियाबाटै काम संचालन गर्नुपर्ने स्थानीय सरकारको प्रावधान छ । वडा सदस्य कैलाले भने उपभोक्ता समितिले काम नगरेरै पैसा खाने गरेको हुँदा आफूहरूले समिति गठन नगरेको दाबी गरे । ‘पहिले काम सम्पन्न गर्ने हो । त्यसपछि मात्र उपभोक्ता समिति गठन हुन्छ’, उनले भने ।


 
वडा नम्बर- ४ का वडा अध्यक्ष काशीराम कैलाले भने वडामा आएको योजनाको अनिवार्य उपभोक्ता समिति गठन गर्नुपर्नेमा फैतामा त्यसो नभएको देखिएको बताए । उनले भने, ‘काम गर्दा गाउँपालिका तथा वडा कार्यालयको सिफारिस अनिवार्य चाहिन्छ तर त्यहाँ त्यसो भएको देखिएन ।’

 

स्वामीकार्तिक खापरका सूचना अधिकारी कुमेरबहादुर शाहीले योजना निर्माणलाई पारदर्शी नबनाएको देखिए कानुनी प्रक्रिया अगाडि बढाइने जानकारी दिए । योजना निर्माणमा कसैले पनि एकलौटी गर्न नहुने उनको धारणा छ ।