close

दोर्दीमा आलु चिस्यान केन्द्र 

दोर्दीमा आलु चिस्यान केन्द्र 

Trulli
ADVERTISEMENT

लमजुङ- लमजुङको दोर्दी गाउँपालिका वडा नंं.- ८ पुरानो दुवारमा आलु चिस्यान केन्द्रको भवन निर्माण गरिएको छ । आलु खेतीमा आकर्षित हुँदै आएका किसानलाई आलु भण्डारणमा समस्या भएपछि समुदायमा आधारित आलुको बिउ भण्डारणका निम्ति चिस्यान केन्द्रका लागि भवन निर्माण गरिएको हो । 


लालीगुराँस कृषक आलु बिउ उत्पादन समूहका अध्यक्ष मीनबहादुर तामाङका अनुसार राष्ट्रिय योजना आयोगको २० लाख रुपैयाँ सहयोग तथा कृषि अनुसन्धान निर्देशनालय गण्डकी प्रदेश लुम्लेको समन्वयमा भवन निर्माण गरिएको हो ।


भवनको एक कार्यक्रमका बीच मंगलबार राष्ट्रिय योजना आयोगका सदस्य डा. बिलबहादुर गुरुङले उद्घाटन गरेका थिए । आलु पकेट क्षेत्रको रूपमा विकास भएको उक्त क्षेत्रलाई चिस्यान केन्द्रले अझ सहज बनाउने उनले बताए ।

 

आलु खेतीको सम्भावना बोकेको ठाउँ भएकालाई आलु खेती फस्टाउँदै लैजान सकिने र आलुको बिउ पनि उत्पादन गर्दै जान सहज हुने उनको भनाइ थियो । आयोगका तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्ने उनले बताए ।


कार्यक्रममा दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले किसानका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बचन दिए । आलु चिस्यान केन्द्रले किसानलाई आलु खेती गर्न सहज हुने र आलु कुहिनबाट बच्ने उनको भनाइ थियो । चिस्यान केन्द्रमा बिक्रीका लागि र बिउका लागि आलु राखिनेछ ।

 

समूहका अध्यक्ष तामाङका अनुसार भवनका लागि करिव ४ आना जग्गा स्थानीय रामचन्द्र तामाङले दान गरेका हुन् । उक्त जग्गामा भवन निर्माण गरिएको हो । चिस्यान केन्द्रबाट आलुको बिउ उत्पादन गरिने र बिक्री गर्न सकिने उनले बताए । 


हल किसानले काभ्रेबाट आलुको बिउ ल्याउने गरेका छन् । चिस्यान केन्द्रमा थप आलु उत्पादन गर्दै अन्य स्थानका किसानलाई बिक्री गरिनेछ । आलुको ग्रेडिङ गरेर भण्डारण गरिनेछ । यसबाट आलुको गुणस्तर कायम हुने र किसानलाई पनि मर्का नपर्ने तामाङको भनाइ छ ।


ग्त वर्ष भवनको काम थालिए पनि कोरोनाका कारण काम प्रभावित भएको थियो । यस वर्ष भवनको काम सकिएको हो । बाहिरी संरचनाको काम सकिएको भित्री संरचना, आलु राख्ने र्‍याकलगायतको काम बाँकी रहेको छ । गत वर्ष दोर्दी गाउँपालिकाले ५ हजार किलो आलुको बिउ अनुदानमा दिएको थियो । 


राष्ट्रिय योजना आयोगले यस वर्ष १५ लाख रुपैयाँको आलु अनुदानमा दिएको छ । पुरानो दुवारका किसान संलग्न रहेको लालीगुराँस कृषक आलु बिउ उत्पादन समूहमा ३० जना किसान रहेका छन् ।