close

अन्नपूर्ण बन्यो हाइड्रो हब (भिडियो खबर)

अन्नपूर्ण बन्यो हाइड्रो हब (भिडियो खबर)

ADVERTISEMENT

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका जलविद्युतको हब बन्न थालेको छ । दाना र पर्वतको खुर्कोट सवस्टेसन तथा प्रसारण लाइन निर्माण भएसँगै अन्नपूर्ण गाउँपालिकामा जलविद्युत आयोजना निर्माणले तीव्रता पाएको छ । तत्कालीन रूपमा स्थानीयले रोजगारी, लगानीको अवसरदेखि भविष्यमा जलविद्युतमार्फत भित्रिने रोयल्टीले विकास र जनताको जीवनस्तर सुधारमा सहयोग पुग्ने देखिएको छ ।


कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना-खुर्कोट सवस्टेसन र प्रसारण लाइनको संरचना निर्माण सकिएको छ । म्याग्दीको दाना, पर्वतको खुर्कोटमा २ वटा सवस्टेसन र बीचमा ११० वटा टावर बनाएर ३९.६ किलोमिटर तार तान्ने काम सकिएको छ । टावर ठड्याउने, तार तान्ने र सवस्टेसनमा उपकरण जडान सकेर सवस्टेसन चार्ज र परीक्षणको तयारीमा जुटेको छ ।

 
एसियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत प्राधिकरणले सन् २०१६ देखि सुरु गरेको यो आयोजना लक्ष्यभन्दा २ वर्ष ढिला सकिएको हो । आयोजना सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजना निर्माणमा ३ अर्ब रुपैयाँ खर्च भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 


सन् २०१६ मा २ अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । आयोजना निर्माणसँगै कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा जलविद्युत आयोजना निर्माणले गति लिने यहाँका जनप्रतिनिधिले अपेक्षा गरेका छन् । 

 

सवस्टेसनबाट तत्काल ५ मेगावाटको घलेम्दीखोला र १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत आयोजनाको विद्युत केन्द्रीय लाइनमा जोडिने भएका छन् ।

 

थापाखोला र घलेम्दी यसअघि नै निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावमा पूर्ण क्षमतामा संचालन हुन सकेका थिएनन् । निर्माणको अन्तिम चरणमा पुगेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजना विद्युत उत्पादनका लागि परीक्षणमा जुटेको छ ।


जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, बाढी र पहिरोका कारण आयोजना निर्माण प्रभावित भएको हो । प्रसारण लाइनका ६ वटा टावर निर्माण भएको पोखरेबगरका जग्गा धनीसँगको विवाद आयोजनाको मुख्य चुनौती बनेको थियो । स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिको पहलमा २ वर्षपछि विवाद समाधान गरेर आयोजना निर्माण सहज बनाइएको थियो ।


अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा ११० मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यासकेड, १४ मेगावाट क्षमताको घारखोला र ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् । १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज, ४ मेगावाटको रुप्सेखोला, ५३.५३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत आयोजना निर्माणको तयारीमा छन् ।