close

कालोपत्रे उप्किएपछि कर्तुत छताछुल्ल (भिडियाे खबर)

कालोपत्रे उप्किएपछि कर्तुत छताछुल्ल (भिडियाे खबर)

ADVERTISEMENT

सिरहा- सडक कालोपत्रे गरिएपछि कम्तीमा २-४ वर्ष टिक्छ भन्ने विश्वास सबैले राखेका हुन्छन् । तर, ठेक्का सम्पन्न नहुँदै कालोपत्रे उप्किन थाल्यो भने काममा हेलचेक्राइँ भएको सहजै अनुमान गर्न सकिन्छ । 


सिरहाको लहान-भगवानपुर-ठाडी सडकले त्यही नियति भोग्नुपरेको छ । कमजोर बेसमाथि कालोपत्रे गरिएका कारण निर्माण सम्पन्न नहुँदै यो सडकखण्डमा कालोपत्रे उप्किन थालेको छ । यसबाट ठेकेदारहरूले कतिसम्म गुणस्तरहीन काम गरेका छन् भन्ने छताछुल्ल हुन पुगेको छ । 


लहान भगवानपुर ठाडी नाम दिइएको यो सडक बनेको डेढ वर्ष नपुग्दै भत्किन थालेको छ । साइट इन्जिनियरको उपस्थितिबेगर कालोपत्रेकोे काममा गुणस्तरीयता नहुँदा बन्दाबन्दै कालोपत्रे उप्किन थाल्यो । 


कालोपत्रेका लागि ‘बेस’ निर्माण डेढ महिनाअघि गरिएको थियो । वर्षामा निरन्तर सवारी साधन गुड्दा बेसको माथिल्लो भाग खुकुलो भइसकेको थियो । त्यस्तो अवस्थामा कालोपत्रे गरिएको सडक गतिलो हुने त कुरै भएन ।

 

साढे ७ किलोमिटर लम्बाइ र ६ मिटर चौडाइको  सडक कालोपत्रे गर्न सडक डिभिजन कार्यालय लहानले काठमाडौंको ऐपेक्स उदय जेभी माइतीदेवीलाई १ मंसिर २०७६ मा काम सम्पन्न हुने गरी ठेक्का दिएको थियो । ठेक्का कम्पनी र कार्यालयको मिलोमतोमा कमसल र गुणस्तरहीन समग्री प्रयोग गरेकाले समय नपुग्दै सडक भत्किन थालेको स्थानीय बताउँछन् ।


५ करोड ३५ लाख ४७ हजार ६२० रुपैयाँको लगानीमा २ जेठ २०७५ मा सडक कालोपत्रे गर्न सडक डिभिजन कार्यालय लहान र ठेक्का कम्पनीबीचमा सम्झौता गरिएको थियो । २ पक्षबीच भएको सम्झौताको ५ प्रतिशत रकम ठेकेदार कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेकाले सोही रकममै कम्पनीले नै भत्केको सडकको पुनर्निर्माण गरिदिने सडक डिभिजन कार्यालय लहानले जनाएको छ । ९७० मिटर सडक भत्किएको छ ।


कार्यालयले २ पटक निर्माण कम्पनीलाई सडक मर्मत गर्नका लागि कार्यालयबाट औपचारिक रूपमा चिठी पठाइसकेको छ । निर्माण कम्पनीबाट एक पटक चिठीको लिखित जवाफसमेत आइसकेकाले  फागुन मसान्तभित्रैमा भत्किएका सडकको संरचना पुनर्निर्माण हुने कार्यालयका प्रमुख विश्वस्त छन् ।


लहान र सीमावर्ती भारतीय शहर लौकाहालगायत शहरसँग सम्पर्क जोड्ने यो सडक वर्षौंदेखि बेवास्ताको सिकार बन्दा जीर्ण भइसकेको थियो । १० वर्ष अगाडि यसलाई जिल्ला विकास समिति मातहतमा ल्याइएको थियो । यो सडक कालोपत्रे गर्न सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत जिल्ला विकासले गर्दै आएको थियो । 


२०७३ सालदेखि लहान-भगवानपुर-ठाडी सडक कालोपत्रे काम सुुरु भई अहिलेसम्म करिब १५ किलोमिटर कालोपत्रे भइसकेको छ । लहानदेखि सीमावर्ती ठाढीसम्म १८ किलोमिटर दूरीको यो सडक अगाडि बन्दै र पछाडि भत्किँदै गयो । ३ वर्षअघि निर्माण भएको लहानदेखि ५ किलोमिटर दक्षिणसम्मको कालोपत्रेको अवशेष मात्र बाँकी छ ।