close

पूर्वप्रधानमन्त्रीले शिलान्यास गरेर अलपत्र परेको एउटा पुल (भिडियाे खबर)

पूर्वप्रधानमन्त्रीले शिलान्यास गरेर अलपत्र परेको एउटा पुल (भिडियाे खबर)

ADVERTISEMENT

खोटाङ- मन्त्री, नेता र सांसदहरू आफ्नो निर्वाचन क्षेत्र र अन्य स्थानमा पुल शिलान्यास गर्न तँछाड मछाड गर्छन् । आफूले शिलान्यास गर्न पाउँदा निकै भाग्यमानीझैँ सोच्ने नेता, मन्त्री, सांसद पुनः फर्केर त्यसको अवस्थाका बारेमा कहिल्यै पनि जानकारी लिँदैनन् भने ठेकेदारलाई सही ढंगले काम गर्नलाई निर्देशन पनि दिँदैनन् । 


२०७४ सालमा तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शिलान्यास गरेको खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट पुल निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन । ठेकेदारको ढिलासुस्तीले काम नहुँदा पनि सम्बन्धित निकायको ध्यान भने गएको छैन ।


खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट पुल निर्माणको काममा ठेकेदारको लापरबाही र ढिलासुस्तीले गर्दा शिलान्यास भएको ३ वर्षमा पनि पुलको काम सकिएको छैन । ३० असार २०७३ मा रसुवा एसएनएस पप्पु जेभीलाई २९ असार २०७६ मा निर्माण सम्पन्न गर्ने गरी जिम्मा दिइएको भए पनि पुल निर्माणले गति लिन सकेको छैन । 


सम्झौता सकिएको पनि १ वर्षभन्दा बढी भइसक्यो । तर, अवस्था कस्तो छ, यो भिडियोको दृश्यले नै बताइरहेको छ । ठेकेदार कम्पनी त्यही हो, जसले देशभरका अधिकांश काम लठिभद्र पारेर छाडेको छ । यो त्यही कम्पनी हो, जसलाई सरकारले पनि कालोसूचीमा राख्दै आएको छ । तर, यो पुलले पनि देखाइरहेको छ पूर्वाधार निर्माणमा झेल कोबाट कसरी भइरहेको छ भनेर । 


यही पुललाई निकै तामझामका साथ २०७४ भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए । तर, पुलको काम अहिलेसम्म १५ प्रतिशत मात्र भएको छ ।


सायद हालका कांग्रेस सभापति देउवालाई पनि थाहा छैन, कुन पुल शिलान्यास गरिएको थियो भनेर । देउवाले शिलान्यास गरेको २०० मिटर लम्बाइ भएको धाप्लाङघाट पुलको उदयपुरतर्फको पिलर ठडिएको छ । उता, खोटाङतर्फको पिलर ठड्याउने काम पनि भइरहेको निर्माण कम्पनीले जनाएको छ । 


उदयपुरतर्फ नदीबीचमा गोलो पिलर उठाउने काम भइरहेको देखिन्छ । धाप्लाङघाटमा खोटाङ र उदयपुरतर्फ वर्षौंअघि कच्ची सडक बनेको भए पनि हालसम्म पुल नहुँदा झोलुङ्गे पुल प्रयोग हुँदै आएको छ । बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही स्थानीयलाई तराईसँग जोड्ने छोटो र सिधा वाटोमा पर्ने यो पुल निर्माणको काम ठप्प हुँदा स्थानीय निराश छन् ।


भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने पुल र धाप्लाङघाटको पुल ५० करोड १४ लाख ६० हजार रुपैयाँको लागतमा पूरा गर्ने गरी ठेकेदार कम्पनी रसुवा एसएनएस पप्पु जेभीले एउटै ठेक्कामार्फत जिम्मा लिएको थियो । त्यति मात्र नभई एकै दिन शिलान्यास गरिएको रानीटार र धाप्लाङघाट पुलको प्रगति पनि उत्तिकै निराशाजनक छ । पटकपटक ठेकेदारलाई ताकेता गरे पनि काम हुन नसकेको गाउँपालिकाको गुनासो छ ।


यी प्रतिनिधि घटना मात्र हुन् । हरेक जिल्लामा कोही न कोही ठेकेदार कम्पनीले मन दिएर समयमा काम सकाएको रेकर्ड छैन । राजनीतिक पहुँच, साँठगाँठको भरमा लिइने ठेक्का र रकम पचाउने वा पहुँचका कारण कसैले केही गर्न नसक्ने अहमले सिंगो देशको विकास निर्माणमा असर परिरहेको छ । यस्तै घटनाका कारण ठेकेदार र निर्माण कम्पनीप्रति आमनागरिकको विश्वास पनि धुमिल बन्दै गइरहेको छ ।