close

आफैंले घोषणा गरेको अभियान चियाउँदै मुख्यमन्त्री

जानकी मन्दिर सौन्दर्यीकरणको स्थलगत निरीक्षण 

आफैंले घोषणा गरेको अभियान चियाउँदै मुख्यमन्त्री

जानकी मन्दिर सौन्दर्यीकरणको स्थलगत निरीक्षण 

Trulli
ADVERTISEMENT

धनुषा- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफैंले घोषणा गरेको ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत जानकी मन्दिरमा जारी सौन्दर्यीकरणको स्थलगत निरीक्षण गरेका छन् । 

 

प्रदेशकै गौरवको आयोजनामा समेटिएको जानकी मन्दिर सौन्दर्यीकरणको पहिलो चरणको काम अन्तिम चरणमा पुगेका बेला मुख्यमन्त्री राउतसहितको टोलीले स्थलगत निरीक्षण गरेको हो । 

 

निरीक्षणका क्रममा मुख्यमन्त्री राउतले योजनाको प्रगतिबारे जानकारी लिई २ साताभित्रै पहिलो चरणको काम सम्पन्न गर्न निर्देशन दिए । उनले पहिलो चरणको कार्य सम्पन्न भएलगत्तै जानकी मन्दिरलाई थप आकर्षक बनाउन दोस्रो चरणको काम सुरु गरिने जानकारी दिए ।


दोस्रो चरणको योजनाका लागि मन्दिरसँग सरोकार राख्ने महन्थ, नागरिक समाज, राजनीतिकर्मीलगायतको सुझाव लिन उनले परियोजना प्रमुखलाई निर्देशन दिए ।

 

मुख्यमन्त्री राउतले जानकी मन्दिर परिसरमा गाडीलाई पूर्ण प्रतिबन्ध गर्नुका साथै श्रद्धालुलाई जुत्ता–चप्पलसमेत परिसर बाहिरै राख्न लगाउन सुरक्षाकर्मी परिचालन गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई निर्देशन दिए । 

 

‘मन्दिरलाई सधैंभरि सफा राख्न प्रदेश सरकारले सफाइकर्मी नै नियुक्त गर्दै छ । मन्दिरको सौन्दर्यीकरणका लागि रकम अभाव हुन दिँदैनौँ’, मुख्यमन्त्री राउतले भने । 

 

मन्दिर अगाडिको जानकी फूलबारी सौन्दर्यीकरणको कामलाई समेत अगाडि बढाउन मुख्यमन्त्री राउतले सम्बन्धितलाई निर्देशन दिए ।


मुख्यमन्त्री राउतले मन्दिर परिसरमा जडान गरिएको टावर लाइटको उद्घाटन गरे ।

 

स्थलगत निरीक्षणमा प्रदेश मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यम भुसाल, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, स्वच्छता अभियानका डीई भगवान झालगायतको उपस्थिति थियो ।