close

हैट ! विकास रफ्तारः १० किलोमिटर बन्न २० वर्ष, कालोपत्रे हुन २ वर्ष (भिडियाे खबर)

हैट ! विकास रफ्तारः १० किलोमिटर बन्न २० वर्ष, कालोपत्रे हुन २ वर्ष (भिडियाे खबर)

ADVERTISEMENT

बाग्लुङ- वर्षाका लागि खाद्यान्न जम्मा गरेर राख्नुपर्ने बाध्यता, हिउँदमा बुङ्बुङ्ती उड्ने धुलोले सताउने समस्याले आजित बाग्लुङको जैमिनी नगरवासीको दुःख विस्तारै हट्दै छ । कहिले हिलाम्मे, कहिले धुलाम्मे सडकको सकसबाट उम्किएर सदरमुकामदेखि नगरपालिकाको मुकामसम्म कालोपत्रेले टल्किने भएको छ, त्यो पनि चालू आर्थिक वर्षभित्रै । 


बाग्लुङ बजारदेखि कुश्मीसेरा जाने सडकको १० किलोमिटर खण्डमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । यो सडक ट्र्याक खुलेको २ दशकपछि कालोपत्रे हुन लागेको हो ।


२१ किलोमिटर सडक खण्डमध्ये आगामी आर्थिक वर्षको अन्त्यसम्ममा काम सक्ने गरी १० किलोमिटर सडकको कालोपत्रे गर्ने काम सुरु भएको हो । गण्डकी प्रदेश सरकारले सडकको स्तरीकरणमा प्रादेशिक सडक ‘क’ वर्गमा परेको यस सडकको कालोपत्र गर्ने काम थालिएको भौतिक पूर्वाधार कार्यालाय पर्वतले जनाएको छ । 


गत असारमा बोलपत्र प्रक्रिया थालिएको सो सडकको १० किलोमिटर खण्डको काम १० भदौदेखि सुरु भएको हो । सडक स्तरोन्नतिसहित कालोपत्रेको जिम्मेवारी पाएको कर्ण विल्डर्स प्रालिले कामलाई तीव्र बनाएको छ । काम सुरु गरेको पहिलो ३ महिनामै १५ प्रतिशत काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।


मालढुंगाभन्दा केही अगाडि कालीगण्डकी करिडोरदेखि पाग्जासम्मको झण्डै ४ किलोमिटर सडक २०७३ सालमा कालोपत्रे भएको थियो । सडक विभागले पक्की बनाएको उक्त सडकको अन्तिम विन्दुदेखि कुश्मीसेरातर्फ १० किलोमिटर खण्ड कालोपत्रेको काम अन्तिम चरणमा पुगेको हो । पाग्जादेखि टाकुरीसम्मको सडकबाहेक टाकुरीदेखि कुश्मीसेरासम्म पनि यसअघि नै कालोपत्रे भइसकेको छ ।


भौतिक पूर्वाधार मन्त्रालयको २६ करोड रुपैयाँको लगानीमा यो सडक कालोपत्रे हुँदै छ । २०७८ असोज मसान्तसम्म काम सम्पन्न गर्ने गरी निर्माणको जिम्मेवारी लिएको कम्पनीले ५ महिना पहिले नै काम सक्ने गरी धमाधम काम गरिरहेको हो ।


पूर्वाधार कार्यालय बाग्लुङका अनुसार सडकको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत छ । कालोपत्रेका लागि तापक्रम पुग्नुपर्ने भएकाले फागुन पर्खिनुपरेको कम्पनीले जनाएको छ । उता, जनप्रतिनिधि पनि हाल भइरहेको कामप्रति सन्तुष्ट देखिन्छन् ।


बाग्लुङको दक्षिणमा रहेका सबै गाउँहरू जोड्ने सडक भएकाले यस सडकमा सर्वसाधारणको चासो बढी छ । तत्कालीन जिल्ला विकास समितिले २०५४ सालमा निर्माण थालेको यो सडक खण्ड २२ वर्ष पुग्दा पनि हिलाम्मे र धुलाम्मे थियो । यो सडक खण्डमा कति रकम खर्च भयो भन्ने यकिन तथ्यांकसमेत अझै कतै भेट्न सकिँदैन ।