close

आरन पेसामा लागेकालाई आधुनिक उपकरण प्रदान 

आरन पेसामा लागेकालाई आधुनिक उपकरण प्रदान 

Trulli
ADVERTISEMENT

रुपन्देही- सैनामैना नगरपालिकाले परम्परागत सीपलाई संरक्षण र सम्बर्द्धन गर्दै समृद्धिको अभियानमा सरिक बनाउने उद्देश्यले आरन पेशा सञ्चालन गर्दै आएका दलित समुदायलाई आधुनिक उपकरण प्रदान गरेको हो ।


स्थानीयको सीप र प्रविधिहरू लोप हुँदै जाँदा कतिपयको रोजगारीसमेत गुम्न पुगेको र पेशामा पनि वितृष्णा जाग्न थालिरहेका बेलामा सैनामैना सहितका यहाँका कतिपय पालिकाले भने नमुना कामको थालनी गरेका छन् ।


परम्परागत प्रविधि र सीपलाई संरक्षण एवम् सम्बर्द्धन गर्ने अभियान स्वरुप पहिलो चरणमा आरन पेशामा लागेर जीविकोपार्जन गरिरहेका समुदायलाई आधुनिक उपकरण प्रदान गरिएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले वताए ।


घरेलु प्रयोजन र कृषि औजारका साथै निर्माण कार्यमा प्रयोग हुने सामग्रीहरु उत्पादन हुँदै आएका परम्परागत कोइलाका आरनलाई आधुनिक उपकरण दिएर पेशाको प्रबद्र्धन गर्ने प्रयास गरिएको प्रमुख कार्कीले बताए ।

 

गाउँघरमै बनाउन सकिने कुटो, कोदालो, हसिया, खुकुरी, डोकाडाला, थुन्से, भकारी, गुन्द्री, राढीपाखी, कपडाहरू बुन्ने सीप कलाहरू विस्तारै हराउँदै जान थालेका बेला पछिल्ला केही समय यता भने संरक्षणको अभियान सुरु भएको छ ।


सैनामैना नगरका ११ वटै वडामा रहेका आरन पेशा अंगालेका समुदायलाई सोही पेशाको सहायक हुनेगरि नयाँ उपकरण प्रदान गरिएको हो ।पहिला हातले चलाउनुपर्ने आरन मेसिनलाई अब विजुलीबाट चलाउन सकिने छ ।स्थानीय मौलिक सीपका धनीहरू मर्ने, वृद्ध हुने र युवा पुस्तामा विदेशिने क्रमले पनि स्थानीय प्रविधिहरूको अस्तित्व हराउन थालेको गुनासा आइरहेका बेलामा यसखालको अभियान सुरु भएको हो ।


श्रमप्रति सामाजिक सम्मान बढाउने र नयाँ पुस्तामा पनि सीप हस्तान्तरण गराउने उद्देश्यले उपकरण प्रदान गरेर हौसला बढाउने कोसिस गरिएको प्रमुख कार्कीले वताए ।उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ अहिले लगभग विस्थापित भइसकेका छन् ।

 

कतिपय गाउँमा आरन पेशामा रहेका समुदायमा पनि युवा पुस्ताको आकर्षण खासै छैन । यहीँ अवस्थालाई मध्यनजर गर्दै युवालाई पनि आकर्षित गर्ने र परम्परादेखिको सीपलाई पुस्तामा हस्तान्तरण गरेर आधुनिक बनाउन जरुरी रहेको छ ।


सैनामैनाले पहिलो चरणमा नगरका २४ जना आरन पेशा सञ्चालन गर्दै आएकालाई आधुनिक उपकरण प्रदान गरेको हो । मेसिन प्रदान गरेका समुदायले उत्पादन गरेका औजारको बजारिकरणका लागि पनि नगरपालिकाले सहयोग गर्नेगरि योजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले वताए ।


सैनामैना नगरपालिका र यूएडिपिको सहकार्य र सेतो गुरास बाल बिकास केन्द्रको समन्वयमा नगरपालिकामा एक समारोहको आयोजना गरि ती उपकरण हस्तान्तरण गरिएको थियो । सैनामैना ८ निवासी दिपक रसाली गाउ घरको हसिया कोदालीमा धार लगाएर दैनिकी चलाउदै आएको तर स्रोत र साधनको अभावका कारण सोचे जस्तो काम गर्न नपाएको पेशा नै परिवर्तन गर्ने अवस्थामा सैनामैना नगरपालिकाले आरन ब्यवसायी लाई निशुल्क उपलब्द गराएको आधुनिक उपकरणको कारणले उत्साही भएको वताए ।