close

दुई दिने कृषि मेला, गाउँभरिका उत्पादन एकै ठाउँ भेला

दुई दिने कृषि मेला, गाउँभरिका उत्पादन एकै ठाउँ भेला

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले किसानको प्रोत्साहन र कृषि पेसाको सम्मानका खातिर कृषि मेला प्रदर्शनी आयोजना गरेको छ ।


‘कृषि उब्जनीको वृद्धि कृषकको शान, व्यावसायिक कृषकलाई सम्मान हाम्रो अभियान’ नारासहित मंगलबार र बुधबार गाउँपालिकाको वडा नम्बर ३ ऐँसेलुखर्क बजारमा पालिकास्तरीय कृषि मेला आयोजना गरिएको हो ।


मेलामा कृषकले उत्पादन गरेका कृषि उपजबीच प्रतिस्पर्धा र एक ठाउँका कृषकलाई अर्को ठाउँका नमुना कृषकको सिको गराउँदै समग्र किसानलाई व्यावसायिक बन्न प्रोत्साहित गर्ने लक्ष्यका साथ कृषि मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले जानकारी दिए ।


विभिन्न ठाउँमा उत्पादित कृषि उपजको प्रचार–प्रसार गर्दै कृषि उत्पादनका लागि किसानबीच प्रतिस्पर्धात्मक वातावरण बनाउने लक्ष्यसहित गाउँपालिकाले २०७४ देखि नै पालिकास्तरीय कृषि मेला आयोजना गर्दै आएको छ ।


कृषि प्रदर्शनीमा गाउँपालिकाका ७ वटै वडाका किसानले तरकारी, खाद्यान्न, फलफूल, दलहन तथा तेलहन, नगदेबाली, जरेबाली र विविध बाली प्रदर्शनीमा राखेका थिए ।


कृषि मेलामा गाउँपालिकाका एँेसेलुखर्क, महेश्वरी, सुन्देल, दिप्सुङ, राखाबाँदेल, जलेश्वरीलगायत ठाउँका किसानले ल्याएका तरकारी, फलफूल, खाद्यान्न, तेलहन/दलहन तथा नगदेबालीअन्तर्गतका १५ स्टल राखिएको गाउँपालिकाको कृषि तथा पशु शाखाले जनाएको छ ।


कृषि मेलालाई सयौँ स्थानीले अवलोकन गरे । ‘कृषकले उत्पादन गरेका कृषि उपजबीचमा प्रतिस्पर्धा गराएर व्यावसायिक बन्न उत्प्रेरित गर्ने उद्देश्यले हरेक वर्ष कृषि मेला प्रदर्शनी आयोजना हुँदै आएको छ,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘यसले कृषकलाई प्रतिस्पर्धामा सहभागी गराएर र पुरस्कृत हुने अवसर पनि दिलाएको छ ।’