close

प्रकाश सपुत बागलुङमा सम्मानित

प्रकाश सपुत बागलुङमा सम्मानित

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ३ को धम्जामा जन्मिएर गीत–संगीत क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका गायक प्रकाश सपुत विकलाई सम्मान गरिएको छ ।

 

आदर्श सञ्चार सहकारी संस्थाले १४ औँ वार्षिक साधारणसभा अवसरमा सपुतलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । सिर्जनशील पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सपुतलाई सम्मान गरिएको थियो । 

 

संस्थाले २५ हजार रुपैयाँसहित सपुतलाई सम्मान गरेको हो । उनले लोक-गीत संगीत क्षेत्रमा पु¥याएको योगदानस्वरूप सम्मान गरिएको सहकारीले प्रकाशन गरेको धौलागिरी जागरण दैनिकका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले बताए ।


‘गायन, गीत लेखन र अन्य प्रस्तुतिको क्षेत्रमा उनले गरेको योगदानलाई सम्मान गरिएको हो,’ शिरिषले भने, ‘सपुतको हरेक क्षेत्रमा देखिएको सिर्जनशीलतालाई सम्मान गर्दा खुसी छौँ ।’

 

कार्यक्रममा गायक सपुतले सम्मानले काम गर्न थप ऊर्जा र हौसला मिलेको बताए । जागरण र धौलागिरि एफएममा पनि काम गरेका सपुतले पत्रकारिता, रेडियो प्रस्तुतीकरण आदिबाट उत्कृष्ट गायकसम्मको यात्रा तय गरिसकेका छन् ।

 

१० वर्षअघि उनी काठमाडौं प्रवेश गरेपछि लोकगीत–संगीत क्षेत्रमा चर्चामा पुगेका हुन् । उनका दर्जनौँ गीत-संगीत चर्चित भइसकेका छन् । 


सपुतलाई गण्डकी प्रदेश सरकारले पर्यटन दूतको रूपमा मनोनीत गरेको छ । बोलमाया सपुतको सबैभन्दा चर्चित र वैदेशिक रोजगारीमा जानेको पीडा समावेश गरिएको गीत हो ।

 

त्यस्तै, गलबन्दी, बदला मायालु, फुटेका चुराजस्ता दर्जनौँ गीत अहिले पनि चर्चामा छन् । ब्याटल र लोकदोहोरीमा पनि उनी स्थापित छन् । 

 

उनले आफू सफल हुनुमा स्थानीय रेडियो र पत्रिकाको भूमिका महत्त्वपूर्ण भएको बताए । ‘म सम्मानित हुनुभन्दा पनि कलाकारितामा स्थापित गर्ने संस्था महत्त्वपूर्ण छ,’ उनले भने, ‘सम्मानले कलाकारितामा थप सुधार गर्ने प्रेरणा मिलेको छ ।’

 

सपुत गीतसंगीत सँगै अभिनेताको रूपमा पनि उदाउँदै छन् । 


पत्रकार सिर्जना पन्त र सन्तोष क्षेत्रीले विवाह भोजको खर्च कटाएर बनाएको अक्षयकोषबाट यस वर्षको सिर्जनशील पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरेका छन् । उक्त पुरस्कार १० हजार रुपैयाँ राशिको छ ।