close

नमोबुद्धमा थप ५ वटा वडा कार्यालय भवन निर्माण हुने

नमोबुद्धमा थप ५ वटा वडा कार्यालय भवन निर्माण हुने

Trulli
ADVERTISEMENT

काभ्रे– सबै वडामा सुविधा सम्पन्न कार्यालय स्थापना गर्ने नीतिअनुसार नमोबुद्ध नगरपालिकामा चालू आर्थिक वर्षभित्र थप ५ वटा वडा कार्यालय भवन निर्माण हुने भएका छन् ।


वडा कार्यालय निर्माणका लागि नगरपालिकाले निर्माण व्यवसायीसँग सम्झौता गरिसकेको छ । नयाँ निर्माण हुने ५ वटा भवनमध्ये ४ वटा भवनका लागि सम्झौता सम्पन्न भइसकेको छ । वडा नं. २, ७, ९ र १० का भवन निर्माणका लागि सम्झौता सम्पन्न भएको हो । वडा नं. ८ को भवन निर्माणको सम्झौता हुन बाँकी छ ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र भवन निर्माणका लागि ठेक्काप्राप्त निर्माण व्यवसायी कम्पनीका प्रतिनिधिबीच सम्झौता भएसँगै अब वडा कार्यालय निर्माणको कामले तीव्रता पाउने नगरपालिकाले जनाएको छ । ठेक्का सम्झौता गर्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले कार्ययोजनाअनुसार तोकिएको समयमै काम सम्पन्न गर्न आग्रह गरे ।


वडा कार्यालय निर्माणका लागि वडा नं. २ र ७ मा सिद्धिविनायक निर्माण सेवा धुलिखेलले ठेक्का प्राप्त गरेको छ । यस्तै, वडा नं.– ८ का लागि एक्सन पी कन्स्ट्रक्सन, ९ का लागि जानुका निर्माण सेवा र १० का लागि युनिक बिल्डर्सले ठेक्का प्राप्त गरेका छन् ।


वडा नं.– २ का लगि ४० लाख ७४ हजार ५७१, ७ का लागि ४० लाख ८७ हजार ६८५, ९ का लागि ४१ लाख ४४ हजार २२३ र १० का लागि ४३ लाख २६ हजार ९७० रुपैयाँमा (भ्याटबाहेक) ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

यसअघि निर्माण सुरु भएका वडा नं. ३, ६ र ११ का कार्यालय भवन निर्माणको कामसमेत यसै आर्थिक वर्षभित्र सकिनेछ । बाँकी वडाका लागि आगामी आर्थिक वर्षभित्र भवन निर्माण गर्ने लक्ष्य राखिएको नगरप्रमुख टीपी शर्मा तिमल्सिनाले जानकारी दिए ।


नगरपालिकाका सबै वडामा एउटै डिजाइनको भवन निर्माण हुने इन्जिनियर उज्ज्वल अर्यालले जानकारी दिए । भौतिक पूर्वाधार सम्पन्न भए मात्र सेवाग्राहीलाई सहज रूपमा सेवा दिन सकिने भएकाले नगरको प्रशासकीय भवन र वडा कार्यालय तथा स्वास्थ्य संस्थाका भवन निर्माणलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको थियो ।


त्यसमध्ये वडा नं. २, ३, १० र ११ मा स्वास्थ्य चौकी भवन निर्माणको कामसमेत अन्तिम चरणमा पुगिसकेको छ । यस्तै, प्रमुख प्रशासकीय भवन आगामी ३ महिनाभित्र पूर्ण रूपमा निर्माण सम्पन्न हुनेछ । नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएको १४ महिनामै प्रमुख प्रशासकीय भवन २ तल्ला निर्माण सम्पन्न गरी नयाँ र सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गरिरहेको छ ।