close

नर्सरीबाटै स्याउका बिरुवा बेच्छन् जुम्ली कृषक, एकै जनाले बेचे ६ हजार बिरुवा

नर्सरीबाटै स्याउका बिरुवा बेच्छन् जुम्ली कृषक, एकै जनाले बेचे ६ हजार बिरुवा

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाका कृषकले उत्पादन गरेका स्याउका बिरुवा जिल्लाबाहिर निर्यात हुन थालेका छन् । जिल्लाबाहिरका किसान जुम्ली स्याउको बिरुवा लिन नर्सरीमै पुग्ने गरेका छन् । यो;वर्ष पहिलो पटक दाङ जिल्लामा स्याउ बिरुवा निर्यात भएको छ ।  

 

एक जना किसानले ६ हजार वटासम्म बिरुवा बेचेका छन् । सिंजाका किसान हंस कठायतले ६ हजार बिरुवा बेचेका हुन् । बिरुवा लिन कृषि कार्यालय दाङको टोली गाडी लिएर जुम्ला पुगेको थियो ।


स्थानीय कृषक गोपाल रोकायाले भने, ‘नर्सरीबाटै ६ हजार बिरुवा २ वटा गाडीमा पठाइयो  किसानले सबै बिरुवाको नगद नर्सरीमै पाए ।’

 

स्याउका बिरुवा रोप्ने सिजन आउन बाँकी भए पनि तातो हावापानी भएको जिल्लामा स्याउ रोप्न थालिएको हो । नर्सरीमै ४० रुपैयाँ प्रतिबिरुवा बेचेको किसान बताउँछन् । फाटफुट किन्दा प्रतिबिरुवा ५० रुपैयाँ पर्छ । स्याउ जुम्लाको पहिचान हो । निरोगी बिरुवा उत्पादन गरेर जिल्लाबाहिर पठाउन किसान उत्साहित छन् । अर्ग्यानिक मल प्रयोग गरेर हुर्केका स्याउका बिरुवा किन्न व्यापारी गाउँमै पुग्छन् ।
 


स्याउका बिरुवा जिल्लाबाहिर निर्यात गर्नको लागि यहाँका किसान संगठिन हुने गोपाल रोकायाले बताए । जिल्लाबाहिरबाट आएको मागअनुसार सबै किसानले सल्लाह गरेर एकै पटक निर्यात गर्ने वातावरणका लागि पहल भइरहेको छ ।


यस कार्यका लागि जिल्ला कृषि विकास कार्यालय सकारात्मक छ । हरेक वर्ष जुम्लादेखि स्याउका बिरुवा निर्यात हुने गरेको छ । यहाँको बिरुवा तत्कालीन कर्णालीका ५ जिल्ला तथा बझाङ, बाजुरा, दैलेख, सोलुखुम्बू, ताप्लेजुङ, डोटी र जाजरकोटसम्म निर्यात हुन्छ । चिसो हावापानीमा निरोगी बिरुवा पाइने भएकाले सबै किसानको ध्यान जुम्लामा केन्द्रित हुने गरेको किसान बताउँछन् ।

 

११० नर्सरी तर ७५ मात्र सक्रिय

 

जुम्लामा स्याउ नर्सरी ११० वटा छन् तर  ७५ नर्सरी धनीले सक्रिय रूपमा बिरुवा उत्पादन गरिरहेका छन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जुम्लामा साढे ५ लाख बिरुवा रहेको बताए । उनले भने, ‘ जिल्लाबाहिर पठाउने तरखरमा छौँ । गत वर्ष जस्तो माग आएको छैन । किसान चिन्तित छन् तर स्याउ लगाउने सिजन सुरु भएकाले बिरुवा बिक्री हुने अपेक्षा गरिएको छ ।’


हाल जिल्लाको सिँजा क्षेत्र र गुठिचौर क्षेत्रबाट स्याउ निर्यात भइरहेको देवकोटाले बताए । स्याउका बिरुवा यहाँका किसानको प्रमुख आम्दानीको स्रोत हो । यहाँ ३ हजार ८०० हेक्टरमा स्याउ खेती थालिएकामा १ हजार ५०० हेक्टरका स्याउले फल दिन थालेका छन्  ।