close

बाग्लुङको सिगानाबासीले पाउने लिफ्टिङ प्रविधिको पानी

बाग्लुङको सिगानाबासीले पाउने लिफ्टिङ प्रविधिको पानी

Trulli
ADVERTISEMENT

बागलुङ– खानेपानीको विकराल समस्या रहेको बागलुङ नगरपालिकाको वडा नम्बर ८ सिगानाकोे लामाचौरमा पानीका धारा पुग्ने भएका छन् । गाउँभन्दा ८ सय मिटर तल खोल्साको पानी लिफ्टिङ प्रविधिमार्फत लामाचौरमा वितरण गर्ने योजनाको काम सुरु भएको हो ।

 

काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा पर्ने पानी मुहान स्थानीयले प्रयोग गर्ने सहमति भएको छ । लामाचौर खानेपानी उपभोक्ता समितिले मुहानको व्यवस्था गरेपछि योजनाको काम सुरु भएको उपभोक्ता समिति अध्यक्ष पूर्णबहादुर कार्कीले बताए ।

 

मुहानमा बन्ने ट्यांकीको बिहीबार बागलुङ नगर प्रमुख जनकराज पौडेलले शिलान्यास गरे । ‘अब लामाचौरमा पानी पुर्‍याउने भनेर भोट माग्ने संकृतिको अन्त्य हुन्छ । लेखेरै राख्नुस्, डेढ वर्षमा घर–घरमा पानी पुर्‍याउने वातावरण बनाउँछौँ,’ पौडेलले भने, ‘प्रदेशको योजना सुचारु भएको छ, यसमा नगरपालिकाले खबरदारी र साझेदारी दुवै गर्छ ।’ नगरप्रमुखलाई स्थानीयले निर्वाचनका बेला खाएको कसम सम्झाएका थिए ।


उच्च भागमा पर्ने मुहानबाट सिगानाकोे लामाचौरमा पानी पुर्‍याइने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनियर ईश्वरी सुवेदीले बताए । उनका अनुसार मुहानमा सानो ट्यांकी बनाएर ७.५ एचपीको मोटरले मुख्य ट्यांकीमा पानी तानिनेछ ।

 

मुख्य ट्यांकीबाट ८ सय मिटरमाथि पुर्‍याउन २५ एचपीको मोटर प्रयोग हुनेछ । २.५ इन्चको पाइपमा प्रतिसेकेन्ड २ लिटर पानी तान्ने योजना रहेको सुवेदीले जानकारी दिए । लामीचौरका १ सय ८० घरमा खानेपानीको पहुँच पुग्नेछ ।


५० हजार लिटरको १, २० हजार लिटरको ३ र २० हजार लिटरको १ ट्यांकी बनाउने स्टिमेट छ । यसका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारले १२ लाख रुपैयाँ विनियोजन गरेको छ ।


‘क्रमागत योजना भएकाले बजेट र स्टिमेट बन्दै जान्छन्,’ सुवेदीले भने, ‘मुहानको विवाद भएकाले पहिले काम हुन सकेन । उपभोक्ता समितिले अब काम गर्ने हो ।’

 

लिफ्टिङ आयोजनाको शिलान्यास भएकाले अब पानी पाउने आशा पलाएको स्थानीय सीता दर्जीले सुनाइन् । पानी अभावका कारण यहाँका स्थानीयले सरसफाइ र तरकारी खेतीका लागिसमेत सास्ती भोग्दै आएका थिए ।

 

उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर कार्की र वडाध्यक्ष राजन जिसीले सिगानाकोे लामाचौरमा लिफ्टिङको पानी पुगेपछि स्थानीयलाई वर्षाैंदेखि पिरलो सकिने दाबी गरे ।