close

नझुक्किनुस् ! सुन्दर ताल होइन, फोहोरको डङ्गुर हो 

स्मार्ट सिटी भनेको यही हो त ?

नझुक्किनुस् ! सुन्दर ताल होइन, फोहोरको डङ्गुर हो 

स्मार्ट सिटी भनेको यही हो त ?

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली प्रदेशको राजधानी सुर्खेतपछि दोस्रो शहरको रूपमा परिचित हिमाली जिल्ला जुम्लाको सदरमुकाम खलंगा दुरगन्धित बन्दै गएको छ । यहाँको चन्दननाथ नगरपालिका- ६ पुरानो बसपार्क लाइन कर्णाली राजमार्गको सडक छेउमा फोहोर पानी जमेर ताल जस्तै बनेको छ ।


सडक छेउको दायाँबायाँ किनारामा बेनेका सुन्दर गगनचुम्बी भवन, घरका तालमा तस्वीर देखिने गरी फोहोर पानीको ताल बनेको छ । वर्षौंदेखि जमेको ताल जस्तो देखिने सडक छेउमा स्थानीय सरकारदेखि प्रदेश सांसद, मन्त्री, संघीय सांसद, मन्त्री त्यही फोहोर पानीको तालमा आफू सवार सवारी साधनको तस्वीर झल्काउँदै हुइँकिन्छन् ।

 

तर, सडक छेउमै यस्तो फोहोर र दुर्गन्धित पानी किन जमेर ताल बनेको हो ? किन यसको व्यवस्थापन हुन सकेन ? भनेर सोच्ने गरेका छैनन् । नाक छोपेरै भए पनि गैरजिम्मेवार भएर हिँड्ने गरेका छन् । 


चन्दननाथ नगरपालिका-६ छिनागाउँका राजेन्द्र रावलले सामाजिक संजालमा त्यही फोहोर पानी जमेर ताल जस्तो देखिने तस्वीर पोस्ट गरेका छन् । उनले प्रश्न गरेका छन्, ‘कता छ हाम्रो नगरपालिका, वडापालिका, सडक डिभिजन अनि प्रशासन ? कर लिँदा एक दिन ढिला हुँदा पनि डबल लिने ? यो फोहोर पानी जमेको तालको व्यवस्थापन कस्ले गर्छ ? मेयरज्यूको स्मार्ट सिटी भनेको यही हो त ? बजारको प्रमुख सडकको ढल निकासा नहुँदा यो हालत छ भने अरू त सोच्न पनि गाह्रो छ ।’


यो फोहोर ताल बनाउने बाहिरी जिल्लाबाट आएका व्यक्ति होइनन् । यही सडक छेउछाउमा व्यापार, व्यवसाय गर्ने व्यक्ति नै हुन् । नगरपालिकाले कर असुल्छ भन्ने नाममा फोहोरमाथि फोहोर थुपार्दै, आफ्नो भान्छाको ढल मिसाउँदा मिसाउँदै यो दुर्गन्धित ताल बनेको हो । 


आफ्नो घरआँगन आफैँले सफा राख्नुपर्छ भन्ने हेक्का नराखेर पैसाको आम्दानीको रास देख्ने व्यवसायीले यस्तो फोहोरको डङ्गुर बनाएका हुन् ।  


यहाँको चन्दननाथ नगरपालिका २०७१ सालमा स्थापना भएको हो । चन्दननाथ, महत, कार्तिक स्वामी र तलिउम गाविसलाई मिलाएर नगरपालिका बनाइएको हो ।

 

यस नगरपालिकामा बजार क्षेत्र बढी भएकाले यहाँ फोहोर बढी निस्किने गर्छ । यही फोहोर व्यवस्थापन गर्नका लागि नगरपालिका स्थापनाकालदेखि नै डम्पिङ साइटको कुरा हुँदै आए पनि ६-७ वर्ष बित्न लागिसक्दा पनि व्यवस्थापन हुन सकेको छैन ।


७ वर्षमा  ८ जना प्रमुख प्रशासकीय अधिकृत फेरिए पनि यहाँको फोहोर व्यवस्थापनले पूर्णता पाउन सकेको छैन । 


चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले भनिन्, ‘यहाँको २ नम्बर वडाको दुनादुनैमा दीर्घकालीन डम्पिङ साइट निर्माणाधीन अवस्थामा छ ।

 

उक्त ठाउँ निर्माणाधीन अवस्थामा भएकाले तत्काल फोहोर व्यवस्थापन गर्न समस्या भएको हो । अहिले पनि फोहोर संकलन गरेर खुला भएको ठाउँ वा जमिनमा खाडल खनेर गाड्ने गरेका छौँ ।’