close

सैनामैनाको नौलो अभियानः ‘उत्पादन गरौँ, आत्मनिर्भर बनौँ’ 

सैनामैनाको नौलो अभियानः ‘उत्पादन गरौँ, आत्मनिर्भर बनौँ’ 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको सैनामैना नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिई आत्मनिर्भर नगर बनाउने अभियान सुरु गरेको छ । 

 

नगरपालिकाले शीतभण्डार निर्माणदेखि स्वरोजगार र उद्यमशीलता अभिवृद्धि गरी सैनामैनाबासीको जीवनस्तर परिवर्तन गराउने कार्यक्रम सुरु गरेको हो ।

 

उत्पादन गरौँ आत्मनिर्भर बनौँ अभियानलाई मूर्त रूप दिन कृषि उत्पादकत्व वृद्धि, बजारीकरण, यान्त्रिकीकरण, एकीकृत वैज्ञानिक कृषि प्रणाली लागू गर्दै करार, सहकारी तथा सामूहिक खेतीलाई प्रोत्साहन गरिने नीति रहेको नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।


सरकारबाट दिइने अनुदानमा सहकारी तथा सामूहिक खेती प्रणालीलाई प्राथमिकता दिइएको उनले जानकारी दिए ।

 

‘कृषियोग्य जमिनको चक्लाबन्दी गरी व्यवस्थित गर्न गैरकानुनी खण्डीकरणलाई नियन्त्रण गर्ने गरी नीतिगत व्यवस्था गरिएको छ’, नगरप्रमुख कार्कीले भने ।


कृषि तथा पशुपालनमा युवा कृषकलाई प्रोत्साहन गर्न निर्वाहमुखी कृषि प्रणालीलाई विस्थापित गरेर व्यावसायिक विकासलाई अगाडि बढाइएको दाबी नगरप्रमुखको छ ।

 

माछा, मासु, दूध, अन्डाजस्ता क्षेत्रमा नगर आत्मनिर्भर भइसकेकोले यसको व्यावसायिकीकरणलाई प्राथमिकता दिइनेछ ।

 

कृषिमा दिइने अनुदानलाई भू-उपयोग योजनाले निर्दिष्ट गरेका कृषिको सुपर जोन, कृषि जोन र व्यावसायिक कृषि क्षेत्रलाई क्रमागत रूपमा अगाडि बढाइएको नगरपालिकाले बताएको छ ।


नगरपालिकामा प्रदेश सरकारसँगको सहकार्यमा वडा नम्बर ३ मा स्मार्ट कुखुरापालन, वडा नम्बर ६ र ११ मा स्मार्ट पशुपालनका लागि कृषिग्राम कार्यक्रम सञ्चालन गरिएको छ ।

 

व्यावसायिक कृषि तथा पशुपालक कृषकको क्षतिलाई न्यूनीकरण गर्न कृषि तथा पशुपालन क्षेत्रमा अनिवार्य बिमा गर्न बिमा क्षेत्रमा अनुदान दिने नीति लिइने नगरप्रमुख कार्कीको भनाइ छ ।

 

पशुपालक कृषकलाई नश्ल सुधारका लागि उन्नत जातको सिमेन उपलब्ध गराइनेछ । पशुपालन गर्दै आएका किसानले नश्ल सुधारका कार्यक्रम प्रभावकारी नभएको गुनासो गरिरहेका बेला सैनामैनाले त्यसलाई सम्बोधन गर्दै यस्तो कार्यक्रम ल्याएको नगरप्रमुख कार्कीले बताए ।


उनले नगरपालिकाभित्र स्थापना भई सञ्चालनमा रहेका एकै प्रकृतिका सहकारी संस्थालाई न्यूनतम सदस्य संख्या र पुँजीको सीमा तोकी समान प्रकृति र उद्देश्य भएका सहकारीलाई मर्ज गरिन थालेको कार्कीले जानकारी दिए ।

 

सहकारीको माध्यमबाट एकीकृत कृषि, उद्योग तथा व्यापार क्षेत्रमा लगानी गर्ने र सहकारीले अनुत्पादक क्षेत्रमा गर्ने लगानीलाई निरुत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

 

मर्ज गरिएका सहकारीलाई औद्योगिक ग्राम क्षेत्रभित्र उद्योग सञ्चालनका लागि जग्गा उपलब्ध गराइने भएको छ । कुनै उद्योग सञ्चालनका लागि जग्गा आवश्यक भएको र माग आए उचित व्यवस्थापन गर्ने गरी काम अघि बढाएको कार्कीले बताए ।


‘स्वरोजगार र उद्यमशीलतामार्फत नगरबासीको जीवनस्तरमा प्रत्यक्ष परिवर्तनको अनुभूति गराउने खाले कार्यक्रम कार्यान्वयन सुरु भइसकेको छ’, नगरप्रमुख कार्कीले भने ।