close

हाँडसिंजामा १५ शय्याको अस्पताल शिलान्यास 

हाँडसिंजामा १५ शय्याको अस्पताल शिलान्यास 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजामा १५ शय्याको अस्पताल निर्माण हुने भएको छ । अस्पतालको गाउँपालिका अध्यक्ष नरवीर रावतले शिलान्यास गरे ।

 
संघीय सरकारको स्वास्थ्य मन्त्रालयको बजेटमा कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा ५, १० र १५ शय्याका अस्पताल निर्माणसँगै यहाँको हाँडसिंजामा १५ शय्याको अस्पताल शिलान्यास गरिएको हो । 

 

अस्पताल निर्माण गर्न संघीय स्वास्थ्य मन्त्रालयबाट १८ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल भए पनि यहाँ सशुल्कसहित नागरिकले उपचार गर्ने गरेका छन् ।

 

तर, स्थानीयबासीले निःशुल्क उपचार गर्न पाउने सरकारी अस्पताल भने छैन । अस्पताल बनाउन २२ जना स्थानीयले ३ हजार ५ सय वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराएका छन् । निःशुल्क जग्गा उपलब्ध गराउने स्थानीयलाई गाउँपालिकाले कदरपत्रसहित सम्मान गरेको छ । 


‘नागरिकले निःशुल्क उपचार गर्न पाउने गरी जुम्लाकै ठूलो १५ शय्याको सरकारी अस्पतालको कनकासुन्दरीमा निर्माण सुरु गरेका हौँ’, गाउँपालिका अध्यक्ष रावतले भने, ‘यहाँ अस्पताल सञ्चालनमा आएपछि नागरिकले सहज रूपमा निःशुल्क उपचार पाउनेछन् ।’ 


यसअघि तिला गाउँपालिका वडा नम्बर ३ कुडारीमा १० शय्याको अस्पताल शिलान्यास भइसकेकोे छ । अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत जुम्ला पुगेर शिलान्यास गरेका हुन् ।


स्वास्थ्य चौकीमा ल्याब सञ्चालन 

 

कनकासुन्दरीको हाँडसिंजा स्वास्थ्य चौकीमा ल्याब सञ्चालन गरिएको छ । यहाँका दुर्गम ठाउँमा स्वास्थ्य परीक्षण ल्याब सञ्चालन नहुँदा २ दिन पैदल यात्रा गरी सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आएर परीक्षण गर्नुपर्ने बाध्यता थियो । 


ग्रामीण भेगका स्वास्थ्य चौकीका ल्याब सञ्चालनमा आएपछि दिसा, पिसाब, खकारलगायत अन्य परीक्षण गर्न सहज भएको इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले बताए । 


‘यहाँका नागरिक बिरामी हुदा स्थानीय स्तरमै ल्याब परीक्षण गरी आवश्यकताअनुसार औषधोपचार गर्न सकिने अवस्था भएको छ’, उनले भने । 


हाँडसिंजामै सञ्चालनमा आयो कोरोना अस्पताल 

 

जुम्लाको कनकासुन्दरीको हाँडसिंजामा कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको छ । अस्पताल बुधबारदेखि सञ्चालनमा आएको हो ।

 

कोरोना संक्रमणका बिरामीको पालिकामै प्राथमिक उपचारका लागि कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य संयोजक दामोदर आचार्यले बताए ।


उनका अनुसार कोरोना भाइरसका बिरामी भइहाले भिन्नै उपचार गर्ने उद्देश्यका साथ अस्पतालबाट सेवा सुरु गरिएको हो । ‘जोखिम आइहाले स्वास्थ्यकर्मीले निरन्तर काम गर्ने र गाउँपालिकाले कोरोनाबाट जोगाउन आर्थिक, भौतिक सहयोग गर्नेछ’, उनले भने ।


कोभिड-१९ अस्पताल व्यवस्थापनका लागि संघीय सरकारले १० लाख रुपैयाँ सहयोग गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले भने, ‘कोभिड-१९ अस्पतालमा १ जना मेडिकल अफिसर, २ जना स्टाफ नर्स र कार्यालय सहयोगीको दरबन्दी छ । तर, अहिलेसम्म मेडिकल अफिसरको दरखास्त परेको छैन ।’


प्रशासनको तथ्यांकअनुसार जुम्लामा ११ हजार ६ सय ३९ जनाको कोरोना परीक्षण गरिएकामा ४ सय ६३ जना संक्रमित भएका छन् । तीमध्ये ४ सय ५१ जना निको भएर घर फर्किएका छन् भने १२ जना अझै सक्रिय संक्रमित छन् ।