close

काम नगर्नेलाई जेल किन नहाल्ने? (भिडियाे खबर)

काम नगर्नेलाई जेल किन नहाल्ने? (भिडियाे खबर)

ADVERTISEMENT

म्याग्दी- पछिल्लो समय देशभर पूर्वाधारमा भएका झेल र कमिसनको खेलका बारेमा हामीले समाचार सम्प्रेषण गर्दै आएका छौँ । त्यसमाथि पनि निरन्तरको लापरवाहीले रोकिएका कतिपय आयोजना पूरा गर्न स्थानीय तहका जनप्रतिनिधिले पटकपटक ताकेता गर्दा पनि सफल हुन सकेका छैनन् । 


त्यसैको झोँक स्वरूप सार्वजनिक कार्यक्रममा नै ठेकेदारप्रति आक्रोश पोखिएको छ । म्याग्दीको मंगला गाउँपालिकामा आयोजित जिल्लास्तरीय समन्वयात्मक कार्यक्रममा यस्तै भएको छ । जनप्रतिनिधिले आयोजना अलपत्र पार्ने ठेकेदारलाई थुन्नुपर्नेसम्मको माग राख्न थालेका छन् ।


कार्यक्रम चलिरहेका बेला मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले एक वर्षअघि नै सकिनुपर्ने मालिका, मंगला र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरवाङ सडक स्तरोन्नतिका लागि संचालित आयोजनामा भएको ढिलासुस्तीका विषयमा आक्रोश पोखे ।


सघन शहरी विकास तथा भवन डिभिजन कार्यालय बाग्लुङमार्फत संचालित सदरमुकाम बेनीको मंगलाघाट र हाँडेभिरको सडक अलपत्र हुँदा धुलो, हिलोले आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढाएको विषय पनि कार्यक्रममा उठाइएको थियो । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले त उपभोक्ता समिति बनाएर विकास बजेटमा चलखेल र ठूला आयोजनामा ढिलासुस्ती भएको आरोप लगाए । 


म्याग्दीको सबैभन्दा दुर्गम र विकट क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले संघ र प्रदेशका आयोजनाका ठेकेदारले फिल्डमा काम नगर्ने गुनासो सुनाइन् । तर, दोषजति जनप्रतिनिधिलाई दिँदै भ्रम छरिएकामा उनले आपत्ति पनि जनाइन् ।


यस्तै, प्रमुख प्रशासकीय अधिकृतले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटको अन्योल र राजस्व बाँडफाँटको बजेट विनियोजन भएअनुसार प्राप्त नहुँदा योजना कार्यान्वयनमा समस्या भएको बताउँदै आक्रोशलाई कम गर्ने प्रयास गरेका थिए ।


होला ठेकेदारले सही ढंगले काम गरेनन् । त्यति मात्र नभई ठेकेदारलाई कतिपय स्थानमा चेतावनी दिन जनप्रतिनिधि पनि चुके होलान् । तर, सार्वजनिक कार्यक्रममा नै ठेकेदारप्रति तुष पोख्नु कतिको जायज हो ? आफैँले विचार गर्ने कुरा होला । त्यति मात्र नभई कुनै पनि निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन सबैको इच्छाशक्तिको आवश्यकता देखिएको छ ।