close

६ कक्षाका नारायणमान बिजुक्छे ! (भिडियो खबर)

६ कक्षाका नारायणमान बिजुक्छे ! (भिडियो खबर)

ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको छ । शैक्षिक सत्र २०७५ देखि कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गरेको हो । 


आफ्नै पाठ्यक्रम लागू गर्ने स्थानीय तहमध्ये भक्तपुर नगरपालिका सम्भवतः पहिलो हो । विद्यार्थीलाई भक्तपुरले इतिहास, भूगोल, कला-संस्कृति, रहनसहन, स्थानीय उपचार विधि र खेलबारे जानकारी दिने उद्देश्यले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको हो । 


स्थानीय सरकार संचालन ऐन, २०७४ लागू भएसँगै कक्षा १२ सम्मको विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय सरकारमा आएको छ । स्थानीय सरकारहरूले आफ्नो स्थानीय क्षेत्रको धार्मिक, मौलिक तथा सांस्कृतिक पहिचानसहितको स्थानीय पाठ्यक्रम बनाई विद्यालयमा लागू गरिरहेका छन् । 


तर, भक्तपुर नगरपालिकाले भने स्थानीय पाठ्यक्रममा स्थानीय क्षेत्रका व्यक्तित्वहरूबारे परिचयसमेत राखेको छ । भक्तपुरको कमलविनायकस्थित वागिश्वरी माध्यमिक विद्यालयमा अहिले कक्षा ८ का विद्यार्थी अध्ययन गरिरहेका छन् । उनीहरू नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेका बारेमा उत्सुकतासहित अध्ययन गर्दै छन् । 


कुनै व्यक्ति विशेषलाई आधार मानेर पाठ्यक्रममा लागू गर्ने सायद यो पहिलो स्थानीय पाठ्यक्रम हो । पाठ्यक्रममा उनको मात्र होइन, हास्यव्यंग्यकार रामेश्वर नकर्मी, संस्कृतविद् तेजेश्वर बाबु ग्वंगः, प्रा. पृथुचरण वैद्य, विष्णुभक्त भुजुलगायत व्यक्तित्वहरूका बारेमा उल्लेख गरिएको छ । राष्ट्रिय पाठ्यक्रममा समेट्न नसकेका कुराहरूलाई स्थानीय पाठ्यक्रममा सिकाइने नगर शिक्षा शाखाले जनाएको छ ।


स्थानीयस्तरका विषयलाई विश्वव्यापीकरण गर्नका लागि, स्थानीय स्तरको मौलिक सम्पदाको परिचय दिनका लागि, जातिका बारेमा जानकारी दिनका लागि स्थानीय पाठ्यक्रम लागू गरिएको हो । पाठ्यक्रममा नारायणमान बिजुक्छेको मात्र होइन, भक्तपुरमा राजनीतिक, सामाजिकलगायत पक्षमा योगदान दिएका ३२ जना व्यक्तिको परिचय राखिएको छ ।


स्थानीय पाठ्यक्रम लागू भएसँगै विद्यार्थीलाई आफ्नो नगरका बारेमा अध्यापन गराउन पाउँदा शिक्षकसमेत खुसी छन् भने आफ्नो परम्परा, धर्म र संस्कृतिका बारेमा अध्ययन गर्न पाउँदा विद्यार्थी पनि दंग छन् । 


भक्तपुरका शहीद तथा व्यक्तित्वका बारेमा स्थानीय पाठ्यक्रममा समावेस गरिएको छ । पाठ्यक्रम बन्नुभन्दा पहिले एकादेशका कथा जस्ता लाग्ने विषयहरू अहिले अध्ययनसँगै प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसरसमेत पाएका छन् । यसले स्थानीय विद्यार्थी मात्र होइन, बाहिरी जिल्लाबाट आएका विद्यार्थीले समेत आफ्नो पहिचान र परम्पराका बारेमा जानकारी लिन सकेका छन् ।