close

के भएको छ नेकपालाई कमरेड ?

के भएको छ नेकपालाई कमरेड ?

Trulli
ADVERTISEMENT

धनुषा- प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा संसद विघटन गरेपछि परिवर्तित राजनीतिक परिस्थितिबारे समग्र देशमा अहिले एउटा मात्र चासो र चिन्ताको विषय बनेको छ- अब देश कता जाला ? के होला ?

 

अबको राजनीतिक बाटो कता जाने होला भन्ने परिचर्चा यतिबेला सबैतिर चुलिएको छ । संघमा मात्र होइन, प्रदेश र स्थानीय सरकारका अंग प्रत्यंगसमेत प्रभावित भएको सहजै देख्न सकिन्छ ।

 

परिवर्तित परिस्थितिमा अहिले धनुषा जिल्लाका प्रत्येक स्थानीय तहमा एउटा प्रश्न साझा प्रश्नको रूपमा उठ्ने गरेको छ- आखिर नेकपा न फुटेको छ, न त जुटेको छ, आखिर भएको के छ नेकपामा ? यी र यस्तै प्रश्न यतिबेला धनुषाको सदरमुकाम जनकपुरधामको चिया पसलदेखि पान पसलसम्म उठ्ने गरेका छन् । 

 

यस्तै, केही प्रश्नको जवाफ हामीले धनुषाका पालिकाहरूमा स्थानीयसँग  खोज्ने प्रयास गरेका छौँ ।

 

धनुषाको औरही गाउँपालिका- २ का युवा नेता सुजित मिश्रले भने, 'बडो कठिन प्रश्न गर्नुभयो तपाईंले !'

 

यस प्रश्नको जवाफ दिन अहिले नसक्ने भन्दै नेता मिश्रले अबको ५ महिनापछि मात्र आफूले यसको जवाफ दिन सक्ने भन्दै पन्छिन खोजे उनी ।

 

नेकपा लगभग फुटको संघारमा पुगेको भए पनि आधिकारिक रूपमा कुनै नेताले अहिलेसम्म पार्टी फुटेको कुरा नगर्नु आफैँमा शंकास्पद रहेको मिश्रले बताए ।

 

जनकपुर- ४ का शिक्षक नागेन्द्र पाण्डेयका अनुसार नेताहरूको विचार नै नमिलेका कारण पार्टी फुटेको जस्तै भएको हो । केपी ओली र प्रचण्ड वैचारिक रूपमा अलगअलग भइसकेका कारण पार्टी फुट्ने निश्चितप्राय: नै रहेको शिक्षक पाण्डेयको भनाइ छ ।

 

उनी भन्छन्, 'अहिलेको अवस्थामा नेकपाका २ खेमा स्पष्ट भइसकेको छ ।' जुटेको कसरी भन्न मिल्छ ? भन्दै शिक्षक पाण्डेय प्रतिप्रश्न गर्छन् । 

 

प्रचण्ड-नेपाल खेमाका नेताहरू आफ्नो समूह विस्तारमा लागेका कारण पार्टी अब फुटिसकेको जनकपुर- ५ का शेखर साह बताउँछन् । साहले भने, 'अहिले वैचारिक रूपमा अलग भएका छन्, केही दिनमै कानुनी रूपमै अलग हुने पक्का छ ।

 

जनकपुर- ७ का स्थानीय संजय सिंह भने नेकपा पुनः जुट्नेमा बिस्वस्त देखिन्छन् । सिंहका अनुसार नेकपाका वामदेव गौतमले यसको पहल गर्दै जिल्लामा समेत नेकपाका दुवै खेमाका केही नेताहरू यस अभियानमा दत्तचित्त भएर लागिपरेकाले जुट्ने संभावना प्रबल छ । २ पक्ष एक भएर जानेमा उनी विश्वस्त छन् ।

 

 

सिंहका अनुसार अहिले एकअर्कालाई गाली गर्दै मंच तताउने नेताहरूले जब आफू कमजोर हुँदै गएको भान हुन्छ, त्यतिबेला यी दुवै खेमा पुनः एक भएर जानेछन् । 

 

प्रतिनिधिसभा विघटनपश्चात यतिबेला झन्डै २ दर्जन मुद्दा सर्वोच्चमा पुगेका र विचाराधीन अवस्थामा रहेको समयमा २ चिरा परेको नेकपा फुट्ने वा जुट्नेबारे आँकलन गर्नेबाहेक यकिन यसै होला भन्ने अवस्था नरहेको जानकारहरुको बुझाइ छ ।