close

पालिकाभरका शिक्षकलाई प्रविधि सिकाउँदै मैवाखोला

पालिकाभरका शिक्षकलाई प्रविधि सिकाउँदै मैवाखोला

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रविधिमैत्री शिक्षण सिकाइमा केन्द्रित गराउने उद्देश्यले पालिकाभित्रका सबै विद्यालयका १-१ जना शिक्षकलाई आईसीटी तालिम उपलब्ध गराउने भएको छ ।

 

गाउँपालिकाका शिक्षा अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार तालिम ६ देखि १५ माघसम्म सञ्चालन हुन लागेको हो ।

 

गाउँपालिकाको शिक्षा शाखाले १-१ जना शिक्षकलाई तालिममा सहभागी गराइदिन पालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई पत्र पठाएको हो ।

 

तालिममा सहभागी हुने शिक्षकले विद्यालयको पत्र र ल्यापटप साथमै लिएर जानुपर्नेछ । सूचना प्रविधिमा आधारित सिकाइलाई विद्यालय तहमा प्रयोग गरेर यसका माध्यमबाट प्रभावकारी शिक्षण सिकाइ स्थापित गर्न गाउँपालिकाले यस्तो तालिम सञ्चालन गर्न लागेको हो ।

 

प्रविधिमा आधारित शिक्षण सिकाइले शिक्षकलाई नयाँ विषयवस्तु खोज्नेदेखि विद्यार्थीलाई प्रविधिको उपयोगिता र सान्र्दभिकता प्रस्ट्याउने गाउँपालिकाका शिक्षा अधिकृत गोम्देनले जानकारी दिइन् । 

 

‘सुनेका कुराभन्दा देखेर सिकेको सिकाइ दीर्घकालीन हुने हुँदा प्रविधिको उपयोगले यसको उद्देश्य हासिल गर्न सहज भई विद्यार्थी सिकाइप्रति उत्प्रेरित हुन्छन्’, उनले भनिन् ।


गुणस्तरीय शिक्षाका लागि शिक्षकले आफूलाई पेसागत दृष्टिले दक्ष र सक्षम बनाउन प्रविधि उपयोग जरुरी हुने गाउँपालिकाको विश्वास छ ।

 

पठनपाठनमा नवीन विषयवस्तु विधि प्रक्रिया, बाल मनोविज्ञान आदिप्रतिको बुझाइ, सिकाइ, ज्ञान, सीप, मनोवृत्तिजस्ता पक्षको विकास गर्दै कक्षा-कोठाको वातावरणमा परिवर्तन ल्याउन र विद्यार्थी केन्द्रित सिकाइ गर्न पनि प्रविधि प्रयोग प्रभावकारी हुने गाउँपालिकाले बताएको छ । 

 

हाल सञ्चालनमा रहेको दूरशिक्षा पनि सूचना र प्रविधिको उपयोगबाटै सम्भव भएको शिक्षा अधिकृत गोम्देनको बुझाइ छ ।