close

साकेलामा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम : सुत्केरीको गर्भ जाँच सहज 

साकेलामा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम : सुत्केरीको गर्भ जाँच सहज 

Trulli
ADVERTISEMENT

खोटाङ- गर्भवती महिलाको गर्भ जाँचका लागि खोटाङको साकेला गाउँपालिकामा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सुरु गरिएको छ । स्थानीय स्वास्थ्य संस्थामै गर्भजाँचको सुविधा विस्तारका लागि गाउँपालिका र वनहर्ट वल्र्डवाइडको सहकार्यमा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सुरु गरिएको हो ।


साकेला वडा नम्बर ३ को खिदिमा स्वास्थ्य चौकीमा स्थानीय गर्भवती महिलाको गर्भजाँच कार्यक्रम उद्घाटन गरिएको छ । खिदिमामा गाउँपालिका अध्यक्ष अर्जुन खड्काले ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम उद्घाटन गरे ।

 

सुरक्षित मातृत्वका लागि बनहर्ट वर्लडवाइडले गर्भजाँच उपकरण प्रदान गरेपछि तालिम प्राप्त १ जना अनमी व्यवस्था गरेर कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।

 

बोकेर हिँड्न मिल्ने गर्भजाँच उपकरणसहित हरेक महिनाको १ दिन सम्बन्धित स्वास्थ्य संस्थामा पुग्ने तालिम प्राप्त अनमीमार्फत गर्भवतीको गर्भजाँच गर्ने गरी कार्यक्रम सुरु गरिएको हो । खिदिमाबाट सुरु गरिएको ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम क्रमशः सबै वडाका स्वास्थ्य संस्थामा विस्तार गरिने गाउँपालिकाले जनाएको छ । 


बिहीबार साकेलाको वडा नम्बर ४ मात्तिमस्थित आधारभूत स्वास्थ्य केन्द्रमा पनि कार्यक्रम उद्घाटन गरिएको छ । गाउँपालिकाले तालिम प्राप्त अनमीलाई हरेक महिनाको १ दिन तोकिएको स्वास्थ्य संस्थामा पुगेर घुम्ती शिविरमार्फत गर्भवती महिलाको गर्भ जाँच गर्ने जिम्मेवारी दिएको छ ।

 

वडा–वडामा पुगेर गर्भवतीको गर्भजाँच गर्ने जिम्मा अनमी मीना खड्काले पाएकी छन् । गर्भवती महिलाको गाउँमै गर्भजाँच गर्ने व्यवस्थाका लागि केही समयपछि साकेलाको वडा नम्बर १ बाँझेच्यानडाँडास्थित स्वास्थ्य चौकी एवं सामुदायिक स्वास्थ्य इकाइ केन्द्र डाँडागाउँ, वडा नम्बर २ रतन्छा स्वास्थ्य चौकी एवं वडा नम्बर ५ मात्तिमबिर्तास्थित स्वास्थ्य चौकीमा कार्यक्रम सुरु गरिने अध्यक्ष खड्काले जानकारी दिए । 


गर्भमा रहेका बच्चाको अवस्था, श्वास-प्रश्वास, मुटुको गति, पानीको मात्रालगायत गर्भवती र बच्चाको शारीरिक अवस्थाका विषयमा पूर्वजानकारी लिएर आवश्यक परामर्श प्रदान गर्ने व्यवस्थाका लागि साकेला गाउँपालिकाका सबै वडामा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम लागू गरेको हो ।

 

गर्भको बच्चाको अवस्थादेखि सम्भावित खतरा भए-नभएको विषयमा थाहा पाउने व्यवस्था भएपछि नगरका गर्भवती महिला लाभान्वित हुनेछन् ।