close

कानुनमन्त्रीसँग कैदीबन्दीले मागे खानेपानी र बिजुली 

कानुनमन्त्रीसँग कैदीबन्दीले मागे खानेपानी र बिजुली 

Trulli
ADVERTISEMENT

जुम्ला- कारागार जुम्लाका कैदीबन्दीले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसँग खानेपानी र बिजुली व्यवस्थापन गरिदिन माग गरेका छन् । 

 

लामो समयदेखि खानेपानी र बिजुली समस्या रहँदै आएको कारागारमा अनुगमनका क्रममा मन्त्री भण्डारीसँग कैदीबन्दीले यस्तो माग गरेका हुन् ।

 

‘यहाँ भौतिक संरचना पर्याप्त छ । बस्न, खान, सुत्न कुनै समस्या छैन । तर, खानेपानी र बिजुलीको समस्या लामो समयदेखि भोग्दै आएका छौँ,’ मन्त्रीसमक्ष कैदीबन्दीले भने, ‘अहिले तिला नदीको पानी जेनेरेटरमार्फत तानेर कारागारमा ल्याइने गरेको छ । त्यो पानी पिउनुको विकल्प छैन ।’ 


मन्त्री भण्डारीसँग कारागार पुगेका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले भने खानेपानी र बिजुली जिल्ला सदरमुकाम खलंगाकै समस्या रहेको बताए ।

 

‘यहाँका नागरिकले पनि खानेपानी र बिजुलीको समस्या झेल्दै आएका छन् । तैपनि कारागार संवेदनशील क्षेत्र भएकाले खलंगा खानेपानी उपभोक्तासँग नियमित खानेपानी उपलब्ध गराइदिन भनेका छौँ’, प्रजिअ थापाले भने ।

 
खलंगामा खानेपानी आपूर्ति गर्दै आएको उपभोक्ता समितिको क्षमता कम हुनु, जनसंख्या बढ्दै जानु र नयाँ खानेपानीका आयोजना नबनेकाले यस्तो समस्या झेल्नु परेको हो । 


मन्त्री भण्डारीले कारागार सुधारगृह भएकाले सरकारले बन्दीहरूको मागअनुसार खानेपानी र बिजुली व्यवस्थापन गरिदिने प्रतिबद्धता व्यक्त गरे ।


प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट १० लाख रुपैयाँको बजेट कारागारको खानेपानी र बिजुलीका लागि विनियोजन गरिएको जानकारी मन्त्री भण्डारीले दिए ।

 

उनले भने, ‘विनियोजित बजेट जिल्ला प्रशासन कार्यालय जुम्लाबाट कार्यान्वयन हुनेछ ।’