close

चन्दा उठाएरै पहिरोपीडितलाई घर

चन्दा उठाएरै पहिरोपीडितलाई घर

Trulli
ADVERTISEMENT

खोटाङ- गत असारको बर्खाका कारण घर भत्किएपछि बिचल्लीमा परेका खोटाङको साकेला गाउँपालिका वडा नम्बर १ बाँझेच्यानडाँडाका मानबहादुर खत्रीको घर चन्दा उठाएरै पुनर्निर्माण गरिएको छ ।

 

गत ३२ असारको बर्खाका कारण भत्किएको खत्री दम्पतीको घर आफन्त तथा शुभेच्छुकको पहलमा सहयोग संकलन गरेर पुनर्निर्माण गरिएको हो ।


स्थानीय थीरेन्द्र भट्टराई र सन्तोष केसीको पहलमा सहयोग अभियान सञ्चालन गरेर पीडित खत्री दम्पतीको नयाँ घर निर्माण गरिएको हो । खत्रीको घर पुनर्निर्माणका लागि स्वदेश तथा विदेशबाट ३ लाख ६० हजार ८ सय ६२ रुपैयाँ संकलन भएको थियो ।


संकलित रकममध्ये ३ लाख २१ हजार ७ सय ८ रुपैयाँमै खत्री दम्पतीको नयाँ घर ठडिएको अभियन्ता भट्टराईले बताए । बर्खायाममा पहिरोले बस्नै नमिल्ने अवस्थामा पुगेको घरको सट्टा भूकम्प पुनर्निर्माण प्राधिकरणको शैलीमा नयाँ घर निर्माण गरिएको हो ।


२ कोठे भूकम्प प्रतिरोधी घरमा जस्तापाताको छाना हालिएको छ । घरको भुइँ तलामा सिमेन्ट प्लास्टर गरिएको छ, भने रंगरोगन गरेर चिटिक्क पारिएको छ ।


घर भत्किएपछि आवासविहीन बनेका खत्री दम्पती शुक्रबार छिमेकी शारदा दाहाल, तेजबहादुर दाहाल, रमेश र पूर्ण भट्टराईको रोहबरमा घर पैँचो गर्दै नयाँ घर भित्रिए ।

 

पहिरोले घर भत्किएपछि खत्री दम्पतीको केही समय विचल्ली भएको थियो । बर्खाका कारण ढलेको घर आफैं ठड्याउन सक्ने हैसियत उनीहरूको थिएन । हारगुहार माग्दा पनि नयाँ आवास व्यवस्था गर्न सहज थिएन । 


उनीहरूको दयनीय अवस्था देखेर आफन्तले घर पुनर्निर्माणका लागि स्वदेश तथा विदेशमा सहयोग अभियान सञ्चालन गरेका थिए । पहिरोपीडित दम्पतीको घर पुनर्निर्माणका लागि साकेला गाउँपालिकाले पनि १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । 


यस्तै, हाल बेलायतमा रहेकी समाजसेवी ईशा गुरुङले वृद्धवृद्धाको घर बनाउन २० हजार रुपैयाँ, संयुक्त आवाज परिवर्तन समाज नेपालले १७ हजार १ सय ५५ रुपैयाँ, दाहाल प्रतिष्ठान खोटाङले पनि १० हजार र दाहाल प्रतिष्ठान प्रारम्भिक समिति निर्मलीडाँडाले ८ हजार रुपैयाँ सहयोग गरेका थिए ।

 
बाँकी रकम ब्रेन हेमरेजपीडितलाई 

 

वृद्ध खत्री दम्पतीको घर निर्माण गरेपछि बाँकी रहेको रकम साकेला गाउँपालिका वडा नम्बर १ बाँझेच्यानडाडाँकै ब्रेन हेमरेजपीडित जितेन्द्रप्रसाद खत्रीलाई हस्तान्तरण गर्ने तयारी छ ।


घर पुनर्निर्माणका क्रममा बचत रहेको ३९ हजार १ सय ५४ रुपैयाँमा अन्य रकम थप गरेर ब्रेन हेमरेजपीडित खत्रीलाई उपचार सहयोगस्वरूप प्रदान गर्ने तयारी गरिएको अभियन्ता भट्टराईले सुनाए ।


ब्रेन हेमरेजपीडित खत्री ४-५ महिना अगाडिदेखि काठमाडौंको मोडल अस्पतालमा उपचाररत छन् ।